डा.राज कुमार यादव पशु चिकित्सक इनरुवा नगरपालिका

परिचय

सर्वसाधारण कृषकवर्गको जीवनस्तर उकास्नमा दूध उत्पादन व्यवसायले एक महत्वपूर्ण भूमिका खेलेको छ । सीमित आयश्रोत भएका कृषक वर्गको दैनिक आधारभूत आवश्यकता परिपूर्ति गर्न पनि यस व्यवसायले ठूलो मद्दत पुऱ्याई आएको छ । यस पेशामा अपनाउनु पने प्रत्येक क्रियाकलापमा महिलावर्गको बढी सहभागिता रहने हुँदा यस दूध उत्पादन व्यवसायको वृत्ति विकासबाट ग्रामीण महिलावर्गको पनि सहजै विकास गर्न मद्दत पुग्न जान्छ।

नेपालमा दूधको उत्पादन ग्रामीणस्तरमा स-साना कृषकहरुबाट हुने गर्दछ । तर यसको उपभोग अधिकांश मात्रामा शहरी इलाकाहरुमा हुने हुँदा यसबाट शहरी क्षेत्रको आय ग्रामीणस्तरका कृषक परिवारमा परिचालन गर्न सघाउ पुऱ्याउँदछ । केही वर्ष यता दूध उत्पादनमा भएको सन्तोषजनक प्रगतिबाट कृषकवर्गमा ठूलो राहत पुग्न गएको छ । यस प्रकारको उत्साहजनक दूध उत्पादनलाई निरन्तरता दिन हाल भएको दूध तथा दुग्ध पदार्थको मागमा पनि वृद्धि आउन उत्तिकै जरुरी छ । त्यसकारण दूधको माग कसरी बढाउन सकिन्छ भन्ने विषयमा चिन्तन मनन् गर्न आज सबै दूध उत्पादक कृषकवर्गको साथसाथै सर्वसाधारण उपभोक्ता वर्गको जिम्मेवारी हुन आएको छ । खुल्ला बजारमा दूधको माग बढाउन वा घटाउनमा मुख्यतः दूधको बिक्री मूल्य र गुणस्तरमा निर्भर रहने कुरा सर्वविदितै छ । त्यसकारण दूधको माग बढाउने उपायहरुको साथसाथै दूधको मूल्य घटाउने उपायहरुकोखोजीनीति गर्नु उत्तिकै आवश्यकता पर्दछ । यसबाट दूध उत्पादक कृषकवर्गमा दूध उत्पादन लागत घटाउनमा ठूलो मद्दत पुग्न जाने विश्वास गरिएको छ ।

दूध उत्पादन लागत भनेको के हो ?

गाईभैंसी पालनबाट दूध उत्पादन गर्ने प्रक्रियामा विभिन्न वर्गहरुमा गर्नुपर्ने हुन्छ । यसमा गाईवस्तु खरिद, गोठ निर्माण, ऋण व्याज, जस्ता स्थिर पूँजी खर्चको साथसाथै दाना पराल, घाँसपात, औषधि उपचार, कृत्रिम गर्भाधान र श्रम जस्ता दैनिक कार्य सञ्चालन गर्न खर्च लाग्ने गर्दछ । माथि उल्लेखित सबै खर्चहरुलाई उत्पादन खर्च भनिन्छ जसमध्ये ७० प्रतिशत खर्च दाना र पशु आहारामा नै खर्च हुने गर्दछ । यी सबै उत्पादन सामानहरुको उचित उपभोग गर्न सकेमा दूध उत्पादन लागत घटाउनमा ठूलो सहयोगपुग्न जान सक्दछ ।

दूध उत्पादन लागत घटाउन किन आवश्यक छ ?

परम्परागतरुपमा ग्रामीणस्तरका कृषक परिवारको लागि भरपदों रोजगारी र पारिवारिक आय आर्जनको प्रमुख श्रोतको रुपमा दूध उत्पादन व्यवसाय फस्टाउँदै आएको छ । साना किसानस्तरबाट उत्पादन गरिने दूधको उत्पादन ग्रामीणस्तरमै हुने गरेता पनि नजिकको शहरी इलाकामा लगी विक्री वितरण गर्न सकेमा मात्र यस व्यवसायबाट सही मानेमा आय आर्जन हुन जान्छ । यसप्रकार अन्यत्र ठाउँमा लगी विक्री वितरण गर्दा कृषकहरुले उचित मूल्य नपाएको जनगुनासो छ र दूध उत्पादक कृषकहरुले दूधकाउचित मूल्य पाउनु पर्ने कुरामा दुई मत हुन सक्दैन । तर दूधको मूल्यको कुरा गर्दा हाम्रा उपभोक्ता वर्गको क्रयशक्ति र विद्यमान दूधको खुल्ला बजारमा असर पर्नसक्ने अन्य कारक तत्वहरुमा पनि उत्तिकै विचार पुऱ्याउन आवश्यक पर्दछ । दूध तथा दुग्ध पदार्थको बजारभाउ बढी महँगो भएमा यी पदार्थहरुको मागमा कमी आउनु स्वाभाविकै हो जसबाट “मिल्क होडी डे” जस्ता समस्या नआउला भन्न सकिन्न, जसले गर्दा दुग्ध उत्पादक कृषकवर्गले ठूलो घाटा व्यहोर्नु पर्ने अवस्था श्रृजना हुन जान सक्दछ । त्यसैले सम्भव भएसम्म दूधको उत्पादन लागत घटाएर उचित मूल्यमा दूध विक्री गर्न सकेमा दूधको खपत बढ्न जाने र सोबाट किसानले नै बढी फाइदा लिन सक्ने हुँदा दूध उत्पादन लागत घटाउने उपायहरु वारे जानकारी राख्नु नितान्त आवश्यक पर्दछ । दूधको उत्पादन लागत घटाउनु भन्नुको अर्थ कृषकस्तरबाट दूधको विक्री मूल्य घटाउनु भन्न खोजेको अवश्य पनि होइन । तर विद्यमान दूधको बजारमूल्य यथावत रहेका अवस्थामा कृषकस्तरबाटै दूध उत्पादन लागत घटाउन सकेमा यसबाट उत्पादक किसानहरुले खुद नाफाको मात्रा बढी आर्जन गर्न सकी दुग्ध उत्पादन व्यवसाय बढी लाभान्वित हुने कुरामा विश्वस्त पार्न सकिन्छ ।

दुग्ध उत्पादन लागत घटाउने उपायहरु :

दुग्ध उत्पादन लागत कृषकस्तरबाट कसरी घटाउन सकिन्छ भन्ने कुरामा विभिन्न उपायहरु वारे केही सुझावहरु यसप्रकार छन् ।

(क) बढी उत्पादन दिन जाने गाइवस्तु पाल्नु

दैनिक दुई लिटर दूध दिने ५ पाँच गोटा गाईवस्तु पाल्नुभन्दा दैनिक आठ लिटर दूध दिने एउटा मात्र पाल्नु अति उत्तम हुन्छ । यसबाट गाईवस्तुले ओगटने ठाउँ, गोठको आकार, सरसफाई, स्याहार सम्भार आदि

सबैमा लाग्ने खर्चको वचत गर्न सकिन्छ । सबैभन्दा ठूलो बचत सिमित आहारा र दानाको सदुपयोग हुन गई थोरै आहारा खर्चबाट बढी उत्पादन गर्न सकिन्छ । गाईवस्तुले खाएको पशु आहारा सबैभन्दा पहिले शारीरिक निर्वाहको लागि उपयोग हुन्छ जसबाट कुनै उत्पादन हुँदैन ।

शारीरिक निर्वाहको लागि उपयोग भएपछि बाँकी रहेको पशु आहारा । मात्र दूध उत्पादनको लागि प्रयोग हुन्छ । दैनिक १० लिटर दूध दिने गाई होस् वा दुई लिटर मात्र दूध दिने गाई होस यदी यी दुवै गाईको शारीरिक वजन एकनासको भएमा जीवन निर्वाह लागत खर्च बरावर हुन्छ । त्यसकारण कम उत्पादन दिने धेरै गाईभैंसी पाल्नुभन्दा बढी उत्पादन दिने एक दुईवटा गाईभैंसी पाल्दा दूध उत्पादन लागतमा ठूलो वचत हुन जान सक्दछ । यसैबाट सीमित साधन श्रोतको उचित उपयोग हुन गई दूध उत्पादन लागत घटाउन ठूलो मद्दत पुग्न जान्छ ।

(ख) पोषिलो तथा पाचनशील हरियो घाँसको उत्पादन र उपयोग गर्ने

अधिकांश कृषकवर्गमा तयारी दाना बढी खुवाएमा गाईभैंसीबाट बढी दूध उत्पादन गर्न सकिन्छ भन्ने धारणा रहेको पाइन्छ । दानाको प्रयोगबाट दूध उत्पादनमा केही वृद्धि भएता पनि महँगो दानामा खर्च हुने रकम र उत्पादित दूधको मूल्य हिसाव गर्दा पाइने खुद नाफामा खासै फरक पर्दैन । वरु उत्पादित दूध विक्रीबाट आउने नाफा सबै दाना खर्चमा नै जान्छ । त्यसैले हाम्रो गाईभैंसी पालन व्यवस्था घाँसमा आधारित हुनु अति आवश्यक र व्यवहारिक हुन जान्छ । हरियो घाँसमा प्रशस्त मात्रामा पौष्टिक तत्वहरु पाइन्छ । कोसे जातका घाँसहरु वर्सिम, स्टाइलो, क्लोभर, भेच, काउपीमा प्रशस्त मात्रामा पाचनशील प्रोटिन, खनिज पदार्थ र भिटामिनहरु पाइन्छ । त्यस्तै नेपियर, टियोसेन्टी, जै, राइग्रास, मोलासिस, पासपालममा प्रशस्तमात्रामा शक्ति दिने कार्बोहाइड्रेटको साथसाथै आवश्यकता अनुसार प्रोटिन र खनिज पदार्थहरु पाइन्छ । त्यसैले कोसे जातका र अरु जातका घाँसहरु मिसाएर गाईवस्तुलाई खुवाउन सकेको खण्डमा तयारी दानाभन्दा ज्यादै सस्तो हुन गई दूध उत्पादन लागतमा खर्च घटाउन सकिन्छ ।

हाल बजारमा पाइने एक के.जी. तयार दानाको करिव ५५/- रुपैया पर्न जान्छ जसबाट ६५० ग्राम मात्र पाचनशील शुष्क पदार्थ प्राप्त गर्न सकिन्छ तर त्यतिनै खर्चबाट वर्सिम, स्टाइलो, नेपियर र जै मिश्रित २ के. जी. पाचनशील शुष्क पदार्थ प्राप्त गर्न सकिन्छ । अर्थात दानाको सट्टमा हरियो घाँसबाट प्रति इकाइ पाचनशील शुष्क पदार्थ खरिद गर्दा तीन गुणा सस्तो हुन जान्छ । त्यसैले यदि गाईभैंसी पालन व्यवसायमा दूध उत्पादन लागत घटाई दूध उत्पादनबाट बढी फाइदा लिने हो भने घाँग उत्पादन गरी घाँसमा आरित पशुपालन व्यवसाय अपनाउनु ज्यादै आवश्यक छ ।

(ग) आफ्नै घर खेतमा पाइने आहराको उपयोग गर्न

सम्भव भएसम्म आफ्नै घर खेत, वारी, कान्लामा पाइने घाँस, पराल, डाले घाँस आदिको अधिकतम उपयोग गर्नु पर्दछ । वर्ष मौसममा आवश्यकताभन्दा बढी हरियो घाँस पाइन्छ, सो घाँसको आश्विन, कार्तिकतिर घाममा सुकाएर हे बनाउन सकेमा हिउँदमा पशु आरामा हुने खर्च धेरै मात्रामा बचाउन सकिन्छ । हिउँदमा बाँझो वस्ने खेतवारीमा सामान्य खनजोतबाट नै घाँस प्रशस्त मात्रामा उत्पादन गर्न सकिन्छ । जसबाट फागुनदेखि वैशाख, जेष्ठसम्म हरियो घाँसको पूर्ति गर्न सकिन्छ । यस प्रकारका क्रियाकलापहरु कृषकहरुबाट अपनाएको कमै मात्र पाइन्छ, जसबाट अधिकांश कृषकहरुको हिउँदमा दूध उत्पादन लागत खर्च बढी हुन जान्छ र नाफा कमै मात्र प्राप्त गर्दछ ।

त्यस्तै गरी आफ्नै खेतबारीबाट प्राप्त गरेका पराल, गहुँको छ्वाली, मकैको ढोडजस्ता निम्न कोटीको आहारा भएता पनि सकेसम्म कम खर्चमा यसको बढी उपयोग गर्न जान्नु पर्दछ । यस्ता आहराहरु प्रायः खुवाउनुभन्दा अगाडि स-साना टुक्रा गरी काटी पानीमा भिजाई राख्नाले यसको पाचनशक्ति बढ्न जाने गर्दछ । यसको साथसाथै घाँस, पराल र छ्वाली जस्ता आहारामा आधारित गाईभैंसीहरुलाई “युरिया मोलासेस व्लक” जस्ता “दूधालु पाचक” चाट्न दिनाले गाईवस्तुको खाने रुची बढ्न जानुको साथै पराल, छ्वालीको पाचकत्व बढन जान्छ । जसबाट सीमित आहराको उचित उपयोग हुन गई बढी दूध उत्पादन गर्न मद्दत पुयाउँदछ । यसप्रकार आफ्नै घर दैलोमा पाइने आहारा श्रोतको उचित उपयोग भई उत्पादन लागत कम हुन जान्छ ।

(घ) गाईवस्तुको उत्पादन अवस्था र क्षमताको आधारमा आहारा खुवाउने व्यवस्था मिलाउने

ब्याउनु, साँढे खोज्नु, गर्भधारण रहनु, दूध सुक्नु फेरी पुनः ब्याउनु एउटा राम्रो गाइको चारित्रिक प्रक्रिया हो । ब्याएपछि दुई तीन महिनासम्म आहारा खाने रुची कम भएता पनि दूध उत्पादन गर्ने क्षमता बढी हुन्छ । यस्तो अवस्थामा नरम, बढी पाचनशील आहारा जस्तै हरियो पोषिलो घाँस प्रशस्त मात्रामा उपलव्ध गराउनु पर्दछ । साथै सन्तुलित रुपमा तयार गरेको दाना उपलब्ध गराउन सकेमा बढी उपयोगी हुन्छ । यो अवस्थामा पशु आहारामा हुने खर्चको अनुपातमा भन्दा बढी दूध उत्पादनमा वृद्धि आउँदछ र उत्पादन खर्च बढेता पनि चिन्ता लिनु पर्ने अवस्था आउँदैन । दूध उत्पादन गर्ने क्षमता चरम विन्दू पुगेपछि प्रशस्त मात्रामा दाना पानी आहारा दिएता पनि क्रमशः दूध उत्पादन घट्दै जान्छ र ब्याउनुभन्दा करिव २ महिना अगाडि दुध दुहुन पनि बन्द गर्नुपर्छ । यो अवस्थामा दूध उत्पादनकोआधारमा आहारा खुवाउनु बढी व्यवहारिक हुन्छ, किनकी उत्पादन क्षमताभन्दा बढी आहारा दिनाले सोझै उत्पादन लागत बढ्न गई घाटा व्यहोर्नु पर्ने अवस्था आउन सक्दछ । दूध दुहुन छोडेता पनि गर्भिणी गाईको पेटमा हुर्किरहेको भ्रुण र गाईको शारीरिक अवस्था हेरी आवश्यकता अनुसार मात्र आहारा खुवाउने व्यवस्था गर्नु पर्दछ । सामान्यतया प्रशस्त मात्रामा घाँसपात उपलब्ध गराएको अवस्थामा १ के. जी. तयारी दाना प्रति चार लिटर दूध र पर्याप्त मात्रामा घाँसपात उपलब्ध नभएको गाईलाई १ के. जी. दाना प्रति २ लिटर दूध उत्पादनको आधारमा दैनिक आहारा दिने व्यवस्था गरेमा बढी व्यवहारिक हुन जाने देखिन्छ र उत्पादन लागत पनि कम हुन्छ ।

(ङ) सम्भव भएसम्म दानाको प्रयोग कम गर्ने

दैनिक दूध उत्पादन खर्च मध्ये सबभन्दा ठूलो खर्च अर्थात कूल खर्चको ३ खण्डको २ खण्ड पशु आहारामा नै लाग्दछ । लागत कम वा खर्च घटाउन सकिने विभिन्न दूध उत्पादन लागत खर्च मध्ये घटाउन सकिने मुख्य उत्पादन लागत पनि यही हो । अधिकांश दूध उत्पादक कृषकहरुले पराल र प्रशस्त मात्रामा तयारी दाना खुवाउने गरेको देखिन्छ । बजारमा पाइने दाना जति प्रयोग गर्यो उत्तिनै दूध उत्पादन लागत बढी हुन जान्छ, त्यसकारण जतिसक्यो कम दानाको प्रयोग गर्नु सकेमा त्यही अनुसार उत्पादन लागत खर्च पनि कम भएर जान्छ ।

आजभोली बजारमा पाइने सन्तुलिन दाना पूर्णरुपमा सबै सन्तुलित र गुणस्तरीय हुन्छ भन्ने जरुरी छैन । गुणस्तरीय कच्चा पदार्थको कमी, भण्डार व्यवस्थाको अभाव र अपर्याप्त मौजुदा गुण नियन्त्रण व्यवस्थाले गर्दा गाईवस्तुलाई चाहिने जति प्रोटिन, खनिज पदार्थ र भिटामिनहरु दानाबाट उपलब्ध नहुन पनि सक्दछ । यसको साथसाथै तयारी दानामा मकै, गहुँजस्ता मानिसले उपभोग गर्ने अन्नहरुको पनि प्रयोग हुन्छ । जुन अन्त बालीहरु मानिसले खानमा प्रयोग गर्नु नै पहिलो प्राथमिकता हुन जान्छ । त्यसकारण गाई भैंसीपालनमा मकै, गहुँ जस्ता अन्नहरुको सोझै प्रयोग गर्ने चलनलाई सकेसम्म कम गर्नुपर्दछ ।

(च) समयमै बाली लगाउने व्यवस्था मिलाउने

विभिन्न कारणहरुले गर्दा गाईभैंसीमा समयमै बाली नलाग्न सक्दछ र यदि समयमा बाली भएन भने यसबाट कृषकहरुलाई ठूलो घाटा पर्दछ । स्वस्थ गाईवस्तुले प्रत्येक २१ दिनमा साँढे खोज्दछ । सामान्यतयाः: ऋतुकाल शुरु भएको १२ घण्टादेखि १८ घण्टाभित्र गाईभैंसीलाई बाली लगाइसक्नु पर्छ अन्यथा गर्भाधान नरहन पनि सक्दछ । ठीक समयमा बाली लगाउन सकेनभने फेरी अर्को २१ दिन पर्खनु पर्ने हुन्छ । सो अवधिमा दूध उत्पादन झन घट्दै जान्छ र आहारा भने खुवाई राख्नु नै परेको हुन्छ र यसबाट सम्पूर्ण उत्पादन प्रक्रियामा ढिलाई भई दूध उत्पादन लागत खर्च बढ्न जान्छ । त्यसकारण गाईवस्तुले साँढे खोजेको समयमा वाली लगाउनु एउटा सफल दूध उत्पादक कृषकको व्यवस्थापन पक्षको निपुणता हो ।त्यसकारण दूध उत्पादन लागत घटाएर पशुपालन पेशालाई बढी आयमूलक व्यवसाय बनाउनेतिर अग्रसर गराउनु नै आजको माग हो।

दूधको उत्पादन लागत घटाऔं !

पशुपालनबाट बढी मुनाफा कमाऔं