इनरुवा,जेठ १८ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा तीनजना महिलामाथि सशस्त्र प्रहरीले हातपात र दुव्र्यवहार गरेको आरोप बाहिर आएको छ । भन्सार तिरेर ल्याएको कपडाको विषयमा इटहरी उपमहानगरपालिकाका तीन महिलालाई सशस्त्र प्रहरीले हातपात र दुव्र्यवहार गरेको आरोप बाहिर आएको हो । सशस्त्र प्रहरीले इटहरी उपमहानगरपालिका १२ का भगवती माझी , इटहरी उपमहानगरपालिका ४ का लक्ष्मी बडी शर्मा र इटहरी उपमहानगरपालिका १३ का गिता सरदार माथि हातपात र दुव्र्यवहार गरेको आरोप सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी परेको छ ।


पीडितहरुले संयुक्त रुपमा उजुरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको भएपनि प्रहरीले छानविन गरेर आईतबार मात्रै उजुरीको बारेमा थप कुरा गर्ने भन्दै पठाईदिएको छ । पीडितहरुले सशस्त्र प्रहरी देवानगञ्ज बेस क्याम्पका ३५ वर्षिय तुलसी चौधरी र करिव ४२ वर्षिय डिएसपी विजय चौधरी सहित पाँच जना सशस्त्र प्रहरीले आफूहरु माथि हातपात र दुव्र्यवहार गरेको आरोप सहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको तर आजै दर्ता नगरेकाले पीडित पक्षले इनरुवामा पत्रकार सम्मेलन गरि घटनाको यर्थात जानकारी दिदै दोषीमाथि कार्वाही र आफूहरुलाई न्यायका लागि पहल गरि दिन अपिल गर्नुभएको छ ।


यसअघि पाँच वर्ष अगाडि पनि घुस्कीमा बाख्रा चराइरहेकी महिलामाथि सशस्त्र प्रहरीले हातपात गरेको विषयले सुनसरीको घुस्की बजार तनावग्रस्त बनेको थियो । त्यस क्रममा झडप भएको र घटनालाई नियन्त्रण लिन हवाई फायर गरेको थियो ।