जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ २८ गते । झण्डै दुई वर्षपछि नेपाल रेडक्रस सोसाईटि सुनसरी सभापतिमा वीरेन्द्रकुमार साहको समितिले वैधानिकता पाएको छ । उच्च अदालत विराटनगरको आदेशबाट नेपाल रेडक्रस सोसाइटीको सुनसरी शाखामा सभापति साह पुनस्थापित हुनुभएको हो । गत आइतबार उच्च अदालत विराटनगरका न्यायाधीशद्वय दिनेशप्रसाद यादव र किरणकुमारी गुप्ताको इजलासले साहको नेतृत्वको समितिलाई वैधानिकताको आदेश दिएको हो ।


त्यसैगरी अदालतले मोरङ रेडक्रसको सभापतिमा तारा भट्टराईको नेतृत्वको तदर्थ समितिलाई वैधानिकता दिएको छ । गत जेठ २९ मै भएको फैसलामा नाम अन्यथा भएपछि भट्टराईले पुनः निवेदन दिएकोमा आइतबार उहाँको नाममा आदेश भएको जनाइएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको २०७८ कात्तिक २३ गतेको ३०८औं बैठकले तत्कालीन सुवोधकुमार सिंहको नेतृत्वको मोरङ शाखालाई विगठन गरी भट्टराई नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
केन्द्रीय समितिको निर्णय चित्तबुझ्दो नभएको भन्दै बर्खास्तमा परेका सभापति सिंहको समितिकी उपसभापति मन्दिरा गुरागाईंले उच्च अदालत विराटनगरमा अन्तरिम आदेशसहितको माग गर्दै रिट दायर गर्नुभएको थियो ।
उच्च अदालतको प्रारम्भिक सुनवाईमा मुद्दा अन्तिम किनारा नभएसम्मका लागि पुरानै कार्यसमितिबाट कामकारवाही अघि बढाउन अन्तरिम आदेश समेत जारी भएको थियो ।
गत भदौ २४ गतेको सुनवाईमा सिंह नेतृत्वको विगठित कार्यसमितिबाट भएको रिट निवेदन खारेज गर्ने अदालतको आदेशपछि भट्टराईले आधिकारिक रुपमा नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति भएर काम गर्ने बाटो खुलेको हो ।
सोही प्रकृतिको मुद्दामा नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाका सभापति मदन कटवाल र सुनसरी शाखाका सभापति वीरेन्द्रकुमार साहको समितिले पनि वैधानिकता पाएको छ । उच्च अदालत विराटनगरको सोही इजलासको आदेशबाट कटवाल र साहको कार्यसमिति पुनस्थार्पित भएको हो ।