जयकृष्ण यादव । इनरुवा
इनरुवा,असोज १ गते । सुनसरीको इनरुवा नगरपालिका सहित विभिन्न ग्रामिण क्षेत्रका स्थानीयहरुले हर्सोल्लाका साथ चौरचन (चौठीचन) पर्व मनाइदैछ । भदौ शुक्लपक्षको चौथीका दिन यो पर्व मनाइने गरिन्छ ।
इनरुवाको १० वटै वडा सहित कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढी, दुहवी, रामधुनी, बराहक्षेत्र र इटहरी लगायतका स्थानका मधेशी समुदायहरुले हर्सोल्लाका साथ चौरचन (चौठीचान) पर्व मनाउदैछ । मधेसी समुदायले आस्था, निष्ठा सहित यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिएको शास्त्री कुञ्जीलाल मेहताले बताउनुभयो ।
तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र चौंठचन आज एकैदिन परेको छ । चौठचन पर्वमा पूजामा सहभागी परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवासमा बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्छन् ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल, दहि, खिर, पुडी पकवान र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा रहेको छ ।
पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, स्याउ, नास्पाती,अम्बक, केरा, पुरी लगायतका सामग्री राखेर पूजा गरिन्छ । चौंठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन् । खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसम अनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुने गर्दछ ।
चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । यो पर्व खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको छ ।
हरितालिका तीज तथा चौठचनको इनरुवा नगरपालिकाले सोमबार नगरक्षेत्रमा सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सार्वजनिक सूचना जारी गर्दै महिलाको तीज तथा मिथिलाको महत्वपूर्ण पर्वमध्ये चौठचनको अवसरमा सार्वजनिक बिदा दिएको हो ।