सुनसरीमा छठको सबै तयारी पुरा

इनरुवा, मंसिर २ गते । सुनसरी सदरमुकाम इनरुवा सहितको विभिन्न स्थानमा लोकआस्थाको महानपर्व छठको तयारी स्वरुप छठ घाट निर्माण धमाधम गरिरहेको छ । सनिबार जिल्लाको साना तथा ठूला पोखरी, नदीनाला र नहरहरुमा बेहुलीझै छठ घाट निर्माण धमाधम गरिरहेको स्थानीयहरुले बताएका छन् ।
यसवर्ष आईतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गर्ने तयारी स्वरुप छठ घाट निर्माण धमाधम गरिरहेको इनरुवा ४ का नारायण यादवले बताउनुभयो ।
यादवका अनुसार देशको सबै भन्दा ठूलो नदी सप्तकोशी नदीको महेन्द्रनगर, चक्रघट्टी, प्रकाशपुर, मधुवन, पश्चिम कुशाहा र कोशी व्यारेज सहितह दर्जन बढी स्थानमा छठ घाट निर्माण धमाधम गरिरहेका छन् ।
इनरुवा ९ बबियाका शिक्षक देवकृष्ण यादवका अनुसार सुनसरी खोलाको इनरुवा खण्ड सहित बबिया, भोक्राहा नरसिंह, हरिनगर क्षेत्रमा सयौ छठ घाट निर्माण गरिएको छ ।
उता देवनागञ्जका स्थानीय विवेक मेहताका अनुसार जिल्लाको सीमावर्ती देवानगञ्ज, बर्जु, कोशी गाउँपालिकाको लौकही, कोशी कटान, भाण्टाबारी सहितका स्थानमा हजारौ भक्तजनहरुले छठको घाट निर्माण गरिहेका छन् ।
प्रकृतिको रुपमा अस्दाउदो र उदाउदो सूर्यको पूजा गर्दै मनाइने छठ पर्वले तराईमधेसमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुग्ने भएकाले प्रत्येक वर्ष पर्व गर्नेहरु बढेका छन् । सबै जलासय, नदी र पोखरीमा सामुहिक रुपमा पूजापाठ र ब्रत गर्ने भएकाले छठको छुट्टै रौनक रहेको स्थानीयहरुले बताएका छन् ।
अस्ताउदो र उदाउँदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
छठ पुजा समिति भुटाहाले पोखरीमा रात्रि जागरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने तयारी गरेको स्थानीय राजु गुप्ताले बताउनुभयो । गुप्ताले भुटाहा पोखरीमा एक सय २० वटा घाट निर्माण भएको र पोखरीमा सेवा बापत प्रत्येक घाटबापत ५०० रुपियाँ लिइएको जानकारी दिनुभयो ।
त्यसैगरी दुहवीको बुढीखोलामा छठ घाट निर्माण गरिएको स्थानीय रञ्जित गोस्वामीले बताउनुभयो । पूजा सहित जाग्राम र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । छठ पर्व साझा पर्वको रुपमा विकास हुँदै बर्गिय बिभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका रहेको स्थानीय बुद्धिजीविहरुको कथन रहेको छ । आर्थिक रुपले बलिया, कमजोर सबै ब्यक्ति, जातजातिहरुका व्यक्तिहरु वा समुदाय एकै ठाउँमा एउटै जलाशयमा आएर पर्व मनाउनुले छठ साझा पर्वको रुपमा विकास भएको अधिकारकर्मी मेघराज न्यौपानले बताउनुभयो ।
छठ पर्वबाट भाईचारा, मित्रता, सदभाव कायम हुने भएकोले यसबाट सबैले एकता कायमगरी मुलुकको विकासमा लाग्नुपर्ने धारणा सहित सामूहिक छठ घाट निर्माणमा जुटेको भोक्राहा नरसिंह २ का सुरेन्द्र कुशुवाहाले बताउनुभयो

।
१, इनरुवा नगरपालिका ९ बबियामा छठ घाट निर्माण गर्दै ।
तस्विर ः यादव । इनरुवा