जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक २ गते । सुनसरीको इनरुवामा पूर्व खेलाडी तथा इनरुवा क्लवको आयोजनामा भेट्रान तथा नन–भेट्रान टोलीबिच एक मैत्रीपूर्ण फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । युवाहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्दै कुलतबाट जोगाउने र युवा सशक्तिकरणमा टेवा पु¥याउने उद्देश्यका साथ मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । प्रतिस्पर्धात्मक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न खेलमा भेट्रान टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नन–भेट्रान टोलीलाई २–० गोल अन्तरले पराजित गरी विजय हासिल गरेको छ । खेल अवधिभर आक्रामक र रणनीतिबद्ध प्रदर्शन गरेको भेट्रान टोलीले २ गोल गर्दा नन–भेट्रान टोली भने कुनै पनि गोल गर्न नसकी शून्यमै सीमित हुन पुग्यो ।


कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व खेलाडी, जिल्ला समन्वय समिति (जिसस) सुनसरीका प्रमुख राजन मेहताको विशेष उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेहताले खेलकुदले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै समाजमा भ्रातृत्व र अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता मैत्रीपूर्ण खेलकुद गतिविधिले विशेष गरी युवा वर्गलाई दुव्र्यसन र गलत बाटोबाट जोगाएर खेल क्षेत्रतर्फ आकर्षित गर्न ठूलो मद्दत पु¥याउने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा खेलकुदप्रेमी, स्थानीय व्यक्तित्व तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो। सरोकारवाला विनोद खनाल लगायतका अतिथिहरूको सहभागिताले कार्यक्रमको शोभा बढाएको थियो । सहभागीहरूले यस प्रकारका प्रतियोगिताहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र निरन्तरता पाउनुपर्नेमा जोड दिएका थिए । आयोजकका अनुसार आगामी दिनहरूमा पनि युवा सशक्तिकरण र सामाजिक रूपान्तरणका लागि यस्ता खेलकुद तथा रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।


१, सुनसरीको इनरुवामा पूर्व खेलाडी तथा इनरुवा क्लवको आयोजनामा भएको भेट्रान तथा नन–भेट्रान टोलीबिच एक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा