नेपाल प्रेस नेपाल प्रेस

२०८३ मंसिर १ गते १०:२३

118Shares

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको शब्द रचनामा तयार भएको ‘पिरतीको मिठो धुन’ गीत सार्वजनिक भएको छ।

चर्चित गायिका अन्जु पन्त र गायक ताराप्रकाश लिम्बुको स्वर रहेको गीतको भिडियोसमेत सार्वजनिक गरिएको हो।

प्रहरी सेवाको व्यस्त र चुनौतीपूर्ण जिम्मेवारीबीच पनि साहित्य र संगीतमा रुचि राख्दै आएका थापा पछिल्लो समय सांगीतिक क्षेत्रमा आफ्ना सिर्जनामार्फत चिनिन थालेका छन्। वर्दीभित्र रहेर पनि संवेदनशील मन र सिर्जनात्मक सोचलाई जीवित राखेका थापाका गीतमा जीवनका अनुभव, प्रेम, प्रकृति, जन्मभूमिप्रतिको माया र सामाजिक परिवेशका कथा समेटिएका छन्।

थापा प्रहरी सेवाका क्रममा विशेषगरी द्वन्द्वकालमा सुदूरपश्चिम र मध्यपश्चिमका दुर्गम क्षेत्रमा लामो समय खटिएका थिए। सेवाका क्रममा देखेका जीवनका विविध पाटा, भोगाइ, आफ्नै जीवनका उतारचढाव तथा देशका गाउँबेसी र सहरमा प्राप्त अनुभव उनका सिर्जनाका प्रमुख विषय बन्ने गरेको एसएसी थापा बताउँछन्।

‘हिउँचुलीमा हिउँ छैन’ र ‘सल्लेरी’ जस्ता गीतमा उनले आफ्नो समय, उमेर र तत्कालीन परिवेशका अनुभूतिलाई शब्दमा उतारेका छन्। लामो समय कागजमा सीमित राखेका आफ्ना अनुभव र अनुभूतिलाई पछिल्लो समय श्रव्य तथा दृश्य माध्यमबाट श्रोतामाझ पुर्याउन थालेको उनी बताउँछन्।

उनको सिर्जनामा संगीत र मनोरञ्जन मात्र नभई जन्मभूमिको सम्झना, प्रकृतिप्रतिको प्रेम र माटोसँगको भावनात्मक सम्बन्ध पनि भेटिन्छ। यसको उदाहरण हो, ‘पहाडकी रानी’ गीत। आफ्नो जन्मभूमि इलामप्रतिको श्रद्धा र आत्मीयता समेटिएको उक्त गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ। मेल भर्सनमा नेपाल आइडल विजेता करण परियार र फिमेल भर्सनमा अनु चौधरीले स्वर दिएका छन्। त्यस्तै, ‘पछ्यौरी’ गीतमार्फत उनले समयको बहावले मानिसलाई थाहै नपाई जीवनको अर्को किनारमा पु¥याउने यथार्थलाई ठट्यौलो शैलीमा प्रस्तुत गरेका छन्।

समीर खरेलको संगीत र स्वर रहेको गीतले पनि जीवनका अनुभूतिलाई फरक ढंगले अभिव्यक्त गरेको छ। थापाका ‘भकारीमा धान भरियो’, ‘हावा जस्तै उडौँला’ र ‘म पनि त’ लगायतका गीत अडियो माध्यमबाट सार्वजनिक भइसकेका छन्। गायक राजेशपायल राईको स्वरमा रहेको ‘मेरो टेन्सन’ लगायत केही फिल्मी गीतसमेत उनका सिर्जनाका रूपमा सार्वजनिक भएका छन्।

पछिल्लो पटक सार्वजनिक ‘पिरतीको मिठो धुन’ मा अन्जु पन्त र ताराप्रकाश लिम्बुको स्वरले प्रेमभावलाई संगीतमा उतारेको छ। गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दासको प्रस्तुति रहेको छ। थापाका अनुसार मानिससँग भेट्दा प्राप्त हुने कथा, यात्रा गर्दा देखिने दृश्य र सेवाका क्रममा भोगिएका अनुभव नै उनका सिर्जनाका स्रोत हुन्।

उनी भन्छन्, ‘भेटिएका हरेक मानिससँग केही कथा हुन्छन्। घुमेका हरेक ठाउँमा विशिष्ट शब्द र अनुभूति हुन्छन्। कहिलेकाहीँ ड्युटीका बीचमा देखिएको दृश्य नै गीतको प्रेरणा बन्छ भने कहिलेकाहीँ कुनै पुरानो स्मृतिले शब्दहरू जन्माउँछ।’ आफ्ना रचनाहरू सार्वजनिक गर्न हतार नगर्ने थापा सेवाका क्रममा पुगेका स्थान र त्यहाँका समाजप्रति सम्मान व्यक्त गर्न तथा जीवनभर ती स्मृतिलाई सुरक्षित राख्न सिर्जना गर्दै आएको बताउँछन्।

आगामी दिनमा पनि आफ्ना सिर्जनाहरू क्रमशः सार्वजनिक गर्दै जाने उनको योजना छ। प्रहरी सेवाको अनुशासन र जिम्मेवारीसँगै साहित्य तथा संगीतमा समेत सक्रिय थापाका सिर्जनाले वर्दीभित्रको अर्को संवेदनशील र सिर्जनशील व्यक्तित्वलाई उजागर गरेका छन्।