अनिल पराजुली

मकवानपुर, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका –६, चिसापानी गढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । 

काठमाडौँबाट सर्लाहीतर्फ आउँदैगरेको विद्युतीय गाडी बिहीबार बिहान सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा तीन महिला, पाँच पुरुष र दुई बालिका रहेका छन् । घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन् । म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक विद्युतीय गाडीमा चालकसहित १५ जना सवार थिए ।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस भीमफेदीबाट सहायक प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको नेतृत्वमा १० जना र नेपाली सेनाको ११ जनाको टोली खटिएको थियो । 

त्यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा १० जना तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभ¥याङबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश यादवको नेतृत्वमा १० जनाको थप टोली घटनास्थल पुगेको थियो ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।