जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख २५ गते । सुनसरीमा भइरहेको शिक्षक सरुवा तथा पालिकास्तरका अनुचित सरुवा तत्काल रोक्ने जिल्ला शिक्षा समितिको बैठकले निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका र नगरपालिका स्तरका अनुचित शिक्षक सरुवा तत्काल रोक्न र भईसकेको निर्णय सच्याउन निर्देशन गर्ने निणर्य गरेको हो ।


बैठकमा सहभागी समितिका सदस्य एवम् सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सामुदायिक विद्यालय भित्रै दूई प्रकारको शिक्षा दिने गरेको गुनासो आएकाले त्यस सम्बन्धमा आवश्यक छानबिन गर्ने र सोको आधारमा थप निर्णय गर्ने बैठकले निर्णय गरेको छ । उहाँले दिएको जानकारी अनुसार संस्थागत विद्यालयले लिने गरेको शुल्क र शिक्षकको सेवा सुविधाको निर्धारण विद्यालयको वर्गका आधारमा तय गर्न निर्देशन गर्ने समेत बैठकले निर्णय गरेको हो । बैठकमा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खगेन्द्र सुवेदी, शिक्षाप्रेमी बसन्त सुवेदी सहितको उपस्थिती रहेको थियो ।