विभिन्न सीमा क्षेत्रबाट अवैधरूपमा भन्सार छली ओसारपसार गर्न खोजिएका अन्दाजी मूल्य रु. ४ लाख १३ हजार ५०० बराबरका पटका, सयपत्री फूल तथा घरेलु मदिरा सुनसरीको विभिन्न ठाउँमा बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक लव सापकोटाले दिनुभएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा गरेको गस्ती तथा निगरानीका क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु. १ लाख ८० हजार बराबरका पटका, रु. २ लाख १६ हजार बराबरका २७० के.जी. सयपत्री फूल तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी मूल्य रु. १७ हजार ५०० बराबरको १७५ लिटर घरेलु मदिरा बरामद गरेको हो।

उक्त सामानहरू सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. कप्तानगञ्ज तथा सीमा सुरक्षा गुल्म हे.क्वा. हरिपुरबाट खटिएका मोबाइल गस्ती टोलीले देवानगञ्ज गाउँपालिका ४ स्थित मियाँ टोल, देवानगञ्ज गाउँपालिका ३ स्थित शर्माटोल तथा कोशी गाउँपालिका ८ स्थित चारकुने सीमा क्षेत्रबाट बरामद गरेका हुन्। बरामद गरेका सामानहरू स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, नेपाल प्रहरी, स्थानीय पत्रकार तथा स्थानीय बासिन्दाको रोहवरमा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छली तथा प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालले जिल्लाका विभिन्न क्षेत्रमा नियमित गस्ती, निगरानी तथा सुरक्षा कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको छ।