इनरुवा,कार्तिक १ गते÷सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा सम्पन्न भएको प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी गछिया मोरंगले हात पारेको छ । सम्पन्न भएको प्रतियोगितामा गछिया युवा समाज, गछिया (मोरङ)ले घरेलु टोली प्रकाशपुर युवा जमातलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । विजेता गछिया युवा समाजले उपाधिसहित नगद दुई लाख २२ हजार २२२ रुपियाँ हात पारेको छ भने उपविजेतामा चित बुझाएको प्रकाशपुर युवा जमातले एक लाख ११ हजार १११ रुपियाँसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । गछियाका सबिन घिमिरे फाइनल खेलको प्लेयर अफ द म्याच बन्नुभयो । अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक गछियाकै प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्डर गछियाकै सुजन चौधरी र उत्कृष्ट मिडफिल्डर गछियाकै सलोन जिमी चुनिनुभयो । त्यस्तै उत्कृष्ट फरवार्ड प्रकाशपुरका सोलोमन बन्नुभयो भने उदियमान खेलाडी प्रकाशपुरका सुदिप पाण्डे र डेनिस कार्की घोषित हुनुभयो । त्यसैगरी उत्कृष्ट प्रशिक्षक गछियाका मनोज राई, सर्वाधिक गोलकर्ताको पुरस्कार गाईघाट युनाइटेडका उमेश कार्कीले हात पार्नुभयो । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने प्रकाशपुरका योगेश खत्री घोषित हुनुभयो । विजेता तथा उपविजेता खेलाडीहरूलाई मेडल, ट्रफी र मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगिताको फाइनल तथा समापन खेलमा सभापतिको रूपमा प्रकाशपुर युवा जमातका अध्यक्ष मनिस मगर रहनुभएको थियो भने प्रमुख आतिथ्यता बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले गर्नुभएको थियो । विशिष्ट अतिथिको रूपमा बराहक्षेत्र नगरपालिका–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङ, बराहक्षेत्र नगरपालिकाका अधिकृतहरू, नेपाल सशस्त्र प्रहरी बल चतराका इन्चार्ज तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीका प्रहरी प्रमुखलगायत अन्य व्यक्तिहरू रहनुभएको थियो ।


१, प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चुमेको गछिया मोरंगले पुरस्कार पाएपछि ।
तस्विर ः