स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने
काठमाडौँ, जेठ १५ गते । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो । सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत जनसङ्ख्यालाई स्वास्थ्य बिमाको दायरामा ल्याउने लक्ष्य राखेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।
बजेट भाषणका क्रममा उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने छ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने छ । स्वास्थ्य बिमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत नागरिक स्वास्थ्य बिमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखिएको छ ।”
यसैगरी, सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सरकारले राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने घोषणासमेत बजेटमार्फत गरेको छ ।
