जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १३ गते । विद्यालयमा कुन उमेरका विधार्थीहरु पढ्छन् भन्दा सहज उत्तर हुन्छ १८ वर्ष मुनीका बालबालिकाहरु तर सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरको श्री आधारभुत विद्यालयमा ४० वर्ष माथि उमेर समूहका अभिभावकहरु कक्षा ७ मा देखिनुभयो । यो दृष्यको मुख्य कारण थियो विद्यालयमा शिक्षकले विधार्थीलाई नियमित नपढाउने, मोवाईल खेलाएर बस्ने र समयमा नआउने र आएपनि बिचैमा शिक्षकहरु घर जाने प्रवृति हावी भएकाले त्यसको निगरानीमा अभिभावक नै छड्केका लागि विद्यालय पढ्नका कक्षामा पस्नुभएको हो ।
इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरको श्री आधारभुत विद्यालयमा रजिस्टरमा १२० बढी बालबालिकाहरु रहेको तर विद्यालयमा ६० देखी ७० जना मात्रै आएको र सात जना शिक्षक कर्मचारी रहेकोमा केही वर्षयता पुरै घण्टी कहिले पाढई नभएकोले अभिभावकले चासो देखाउनुभएको छ ।
अभिभावक इनरुवा नगरपािलका वडा नम्बर १० जल्पापुर निवासी दिपेश कुमार गुप्ताले गाउँको एउटा मात्रै सामुदायिक विद्यलाय रहेको भएपनि शिक्षक र प्रधानाध्यापक विधार्थीप्रति उतरदायी नभएकाले कक्षा ५ का विधार्थीहरु अक्षर समेत नचिन्ने अवस्थाको रहेको गुनासो गर्नुभयो । गुप्ताले अक्षर नै नचिन्ने अवस्थामा विधार्थीलाई राखेर तलब भत्ता मात्रै खाने श्री आधारभुत विद्यालयमा आईतबार अभिभावकहरुले छड्केका लागि आफ्नै कक्षामा पढ्न प्रवेश गर्नुभएको जानकारी दिनुभयो ।
गाउँमा शैक्षिक सुधार अभियान गठन गरेर अभिभावकहरुले कक्षा ५ , ६ र ७ मा पढाईरहेको समयमा विधार्थीसगैं बसेर पढ्नुभएको हो । पढाउन आउनुभएका शिक्षकहरुले पाठनोट, पाठ योजना र शैक्षिक सामग्री विना नै आएको पाइएकाले प्रश्न गरेको र शिक्षकले जवाफ नदिई आफ्नो कुरा मात्रै राखेर गएको अभिभावक पन्नालाल सरदारले जानकारी दिनुभयो । सरदारले आफूहरु ४० वर्ष माथि उमेर समूहका दर्जन बढी अभिभावकहरु कक्षा लिएको र कुनै तयारी नै नगरी कक्षामा शिक्षकहरु आउने गरेको पाईएको बताउनुभयो ।
अर्का अभिभावक सूर्यनारायण पोदारले विद्यालयमा आएको खाजा पनि विधार्थीलाई राम्रो नखुवाएको र खुवाएपनि भुजा चना मात्रै खुवाएको बताउनुभयो । ब्रहमदेव पोदारले समेत शिक्षकहरुको अनुशासन अभावले शैक्षिक गुणस्तर सुधार नभएको प्रतिकृया दिनुभयो । अर्का अभिभावक शिवनाथ मण्डलले राजनीतिक पहुच र विद्यालयमा जडान गरिएको नेटको कारणले विधार्थीलाई पढाउने बाहेक कुरामा व्यस्त बनेको पाइएको बताउनुभयो ।
उता प्रधानाध्यापक जोगि झाले शिक्षकहरुले विधार्थीलाई नियमित पढाउदै आएको दावी गर्नुभयो । झाले आईतबार मात्रै तीन जना शिक्षक विना सूचना अनुपस्थित भएको र केहीले मात्रै कहिलेकाही मोवाईल खेलाएर बसेको प्रतिकृया दिनुभयो ।

१, सुनसरीको इनरुवा १० जल्पापुरमा शिक्षकले विधार्थीलाई नियमित नपढाउने, मोवाईल खेलाएर बस्ने र समयमा नआउने र आएपनि बिचैमा शिक्षकहरु घर जाने प्रवृति हावी भएकाले त्यसको निगरानीमा अभिभावक नै छड्केका लागि विद्यालय पढ्नका कक्षामा पस्नुभएको अभिभावकहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा