दमक, कार्तिक २१ । जनसाँस्कृतिक महासङ्घ, नेपाल एक नम्बर (कोशी) प्रदेश समितिको आङ्गिक सङ्गठन जनसाहित्य सङ्घ, नेपालको आयोजनामा शनिबार दमकमा रचनावाचन, स्रष्टा सम्मान तथा कृतिलोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
जनसाहित्य सङ्घ, नेपाल कोशी प्रदेश अध्यक्ष विमला पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसाँस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाखी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जनसाहित्य सङ्घ, नेपालका केन्द्रीय अध्यक्ष प्राज्ञ अगिव नेपाली, नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सचिवालय सदस्य सन्तोष गौतम, कवि खेमलाल पोखरेल तथा प्राज्ञ प्रा. डा. गोपाल भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका १९ जना साहित्य तथा संस्कृतिकर्मीलाई सम्मान गरिएको थियो भने करिब १५ जना कवि तथा लेखकले आ–आफ्ना सिर्जना वाचन गर्नुभएको थियो। साहित्यिक सिर्जना, विचार र अनुभवको आदानप्रदानसहित सम्पन्न कार्यक्रममा करिब ९० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
सोही अवसरमा कवि तथा सहप्राध्यापक टेकनाथ घिमिरेद्वारा लिखित ‘माधव’ यात्रा खण्डकाव्यको प्रमुख अतिथि भीम कुमाखीले विमोचन गर्नुभएको थियो। विमोचित कृतिमाथि समीक्षक वासुदेव खनालले परिचर्चा गर्दै कृतिका विषयवस्तु, साहित्यिक पक्ष र सिर्जनात्मक विशेषताबारे प्रकाश पार्नुभएको थियो।
साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा स्रष्टाको सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले साहित्यिक गतिविधिलाई निरन्तरता दिनुपर्ने र सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा राजन चापागाईंले सहजीकरण तथा सञ्चालन गर्नुभएको थियो भने सुधीर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम संयोजक प्रा. डा. प्राज्ञ खेमराज खनालले अन्त्यमा सहभागी अतिथि, स्रष्टा, साहित्यप्रेमी तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।
दमक बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रमले कोशी प्रदेशको साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।