अनिल श्रेष्ठ , इनरुवा।

नेवा समुदायको सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका प्रध्यापक जगन्नाथ श्रेष्ठ सम्मानित हुनुभएको छ। नेपाल संवत् ११४७ न्हूदँको अवसरमा नेवाः देय् दबू इनरुवा नगर समिति, सुनसरीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा श्रेष्ठलाई दाेसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो। आयोजक संस्थाका पदाधिकारी तथा नेवा समुदायका अगुवाहरूको उपस्थितिमा उहाँलाई सम्मान गरिएको हो।
इनरुवा नगरपालिका वडा नं. ३ निवासी श्रेष्ठ नेवा समाजका पूर्वअध्यक्ष, सुनसरी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख, नेवा उत्थान समाजका सल्लाहकार तथा नेवाः देय् दबू इनरुवा नगर समितिका वरिष्ठ सल्लाहकार हुनुहुन्छ।


सम्मानपत्रमा उल्लेख भएअनुसार श्रेष्ठले संस्थाको स्थापना, विकास तथा सामाजिक गतिविधिमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो। उहाँलाई नेवा समुदायको सामाजिक तथा सांस्कृतिक उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बौद्धिक व्यक्तित्वका रूपमा सम्मानपत्रमा उल्लेख गरिएको छ।
सम्मानपत्रमा आगामी दिनमा पनि संस्थालाई निरन्तर साथ, सहयोग र मार्गदर्शन प्रदान गर्दै समाजको सु–स्वास्थ्य एवं दीर्घायुको कामना गरिएको छ।
नेवाः देय् दबू इनरुवा नगर समिति र नेवा उत्थान समाज इनरुवा परिवारको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेवार भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन गर्नुपर्ने विषयमा समेत चर्चा गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख केदार भण्डारीले नेवार भाषा संरक्षण र नयाँ पुस्तालाई भाषा सिकाउने उद्देश्यले पहिलो चरणमा कार्यक्रम तथा तालिम सञ्चालन गर्न एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो। वक्ताहरूले नेवार भाषाको संरक्षणमा युवा पुस्ता र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
नेवाः देय् दबू इनरुवा नगर समितिका अध्यक्ष धगेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेवाः देय् दबू जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष केदार कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा इनरुवा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुमन थापा, नेवाः देय् दबू जिल्ला कार्यसमिति धरानका कोषाध्यक्ष मञ्जराज श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्य दिल श्रेष्ठ, नगर समितिका वरिष्ठ उपाध्यक्ष कृष्ण श्रेष्ठ, उपाध्यक्ष रिना श्रेष्ठ, सचिव छत्र श्रेष्ठ, कोषाध्यक्ष योगेन्द्र राज श्रेष्ठ, सदस्य सीता श्रेष्ठ तथा संस्थापक अध्यक्ष केशव कुमार श्रेष्ठलगायत आयोजक संस्थाका पदाधिकारी, सल्लाहकार, सामाजिक अगुवा, बुद्धिजीवी तथा स्थानीय समुदायका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अग्रज व्यक्तित्वहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई भाषा, संस्कृति र सामाजिक सेवाको क्षेत्रमा प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।