सुनसरीमा दोस्रो दिन पनि कर्फ्यु जारी
सुनसरी,
२०८० चैत २४ गते । सुनसरीमा दुई समुदायबिचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिमबिचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई शनिबार पनि निरन्तरता दिइएको हो ।
सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्युलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिनुभयो । चैत २३ गते मध्यान १२ बजेदेखी हरिनगर सहित देवानगञ्ज १ र ७ नम्बर वडा तथा दिउसो ५ बजेपछि जिल्लाको भोक्राहा नरसिंह, कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिका पुरै तथा इनरुवा नगरपालिकामा अनिश्चितकालिन कर्फ्यू लगाइएको जानकारी दिनुभयो ।
स्थानीय प्रशासनले अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कर्फ्यु जारी भए पश्चात् जनजीवनमा सामान्य बन्दै गएको पनि कायममुकायम प्रमुख जिल्ला अधिकारी फुयाँलले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ । घटनाबारे अनुसन्धान गरी कारबाही, सुरक्षा र समस्या समाधानका लागि संवादलाई पनि अघि बढाइएको कायममुकायम प्रमुख जिल्ला अधिकारी फुयाँलले बताउनु भयो । सो समस्या समाधानका लागि सर्वदलीय बैठक समेत बोलाइएको छ ।
यसैबिच सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही मुस्लिम युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले अघिल्लो दिनको दाँजोमा अवस्था सामान्य बन्दै गएको बताउनुभएको छ । यद्यपि, सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखी बाक्लो सुरक्षा तैनाथी मिलाइएको उहाँले बताउनु भयो । एसपी रेग्मीले कर्फ्यु उल्लङ्घन गर्न खोज्नेलाई पक्राउ गरिरहिएको बताउनुभएको छ ।
चैत २३ गते हरिनगरको भुटाहाबाट चर्केको हिन्दु मुस्लिम बिचको झडपले दिनभरजसो दक्षिणी भेग अशान्त बन्न पुगेको थियो । दुवै समुदाय आपसमा भिडेपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन ८३ राउण्ड हवाई फायर र ३१ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो । घटनामा परी ४० बढी घाइते भएका छन् । घाइते हुनेमा प्रहरीको सङ्ख्या ज्यादा रहेको दाबी गरिएको छ ।

१, सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका १ को भुटाहा बजार सुनसान रहेको अवस्था ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
