जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २५ गते । सुनसरीको हरिनगरमा चारदिन अघिबाट चर्केको दुई समुदायबिचको विवाद र झडपको घटना सहित सबै विवाद समाधानका लागि सर्वपक्षिय संवाद सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा कोशी प्रदेश सभा सदस्यहरु, जनप्रतिपनिधि र राजनीतिक दल सहित स्थानीय सरोकारबालाहरुको बीचमा हरिनगर भुटाहा विवाद समाधानका लागि सर्वपक्षिय संवाद सुरु भएको हो । विहान ११ बजेबाट संवाद तथा छलफल सुरु गरेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार शुक्रबार हरिनगर स्थित रामनगरभुटाहाबाट चर्केको हिन्दु–मुस्लिम समुदायका बिचको झडपले शान्ति सुरक्षामा चुनौती देखिएपछि लगाइएको कर्फ्युलाई आईतरबार पनि जारी रहेको छ । केही ठाउँमा खुकुलो पार्दै कर्फ्युलाई जारी राखेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार चैत २३ गते मध्यान १२ बजेदेखी हरिनगर सहित देवानगञ्ज १ र ७ नम्बर वडा तथा दिउसो ५ बजेपछि जिल्लाको भोक्राहा नरसिंह, कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिका पुरै तथा इनरुवा नगरपालिकामा लगाएको कफ्र्यु जारी रहेको छ ।
संवाद तथा छलफल कार्यक्रममा कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरी, सदानन्द मण्डल, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, हरिनगरका उपाध्यक्ष रिमझिम भगत, भोक्राहा नरसिंहका अध्यक्ष अजमल अख्खतर अंसारी, नेपाली काङग्रेस सुनसरीका सभापति केदार भण्डारी, जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वे, नेकपा माओवादी केन्द्रका प्रतिनिधि, नेकपा एसका, राष्टिय स्वतन्त्र पार्टी, नेकपा एमालेका लसकरी अंसारी सहितको उपस्थिती रहेको छ । छलफलमा आआफ्नो कुरा राख्ने क्रम सुरु भएको जनाएको छ ।


१, सुनसरीको हरिनगरमा चारदिन अघिबाट चर्केको दुई समुदायबिचको विवाद र झडपको घटना सहित सबै विवाद समाधानका लागि सर्वपक्षिय संवाद सुरु भएको दृष्य ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा