जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत २८ गते । सुनसरीको इनरुवा नगरपालिकामा कक्षा ८ मा एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएका छन् । नगरँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये ६४९ जना उत्तीर्ण भएका छन भने ६८९ जना अनुतिर्ण भएका हुन् ।
पहिलो पटक असल अभ्यास गर्दै इनरुवा नगरपालिकामा यसवर्ष कक्षा ८ को परीक्षा केन्द्रीकृत रुपमा सञ्चालन गरिएको थियो । संस्थागत भन्दा सामुदायिक विद्यालयको नतीजा खराव रहेको देखिएको शिक्षाका अधिकृत स्वस्तिका दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार ११ वटा सामुदायिक विद्यालय र २६ वटा संस्थागत विधालय गरि ३७ विद्यालयका कुल एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएका छन् ।
सरस्वती मावि बबियाबाट ८२ जना मध्ये १०, भगवती माविबाट ५७ जना मध्ये १६ जना, जनता मावि मधेशाबाट ७८ जना मध्ये ७ जना, शारदा मावि बलाहाबाट १६६ जना मध्ये ८४ जना, त्रिभुवन मावि डुम्राहामा ८६ जना मध्ये ४ जना, राजाजी माविमा २८ जना मध्ये १९ जना, बालमन्दिर माविबाट १०४ जना मध्ये २२ जना, श्री नेपाल राष्टिय हरि मावि चान्दबेलाबाट २७ जना मध्ये ३ जना, ज्ञानोदय आधारभुत विद्यलायबाट ३० जना मध्ये ५ जना, वीपी आवि इनरुवा ८ बाट १५ जना मध्ये १ जना, गणेश नेपाल राष्टिय आधारभुत विधालय गणेशपुरबाट ३४ जनामा एकै जनापनि उर्तिण भएन ।
सामुदायिक तर्फ सबै भन्दा बढी प्रतिशत राजाजी माविले नतिजा ल्याएको छ । राजाजीले ६६ प्रतिशत नतीजा ल्याएको देखिन्छ । सामुदायिक विद्यालय अन्तर्गत सञ्चालित कक्षा ८ को परीक्षामा ७०७ जना परीक्षार्थी मध्ये १७१ जना मात्र उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ उत्तीर्ण भएका भन्दा अनुत्तीर्ण भएको संख्या धेरै अर्थात ५३६ रहेका छन् । समग्रमा सामुदायिक विद्यालय तर्फ उत्तीर्ण दर २४ प्रतिशत रहेका छन् ।


विद्यार्थीले लेखेको उत्तरपुस्तिका पनि पालिका बाटै शिक्षकबाट मूल्याङ्कन गराउँदा सबै विषय उत्तीर्ण गर्ने कम रहेको पाइएको छ । कक्षा ८ को नतिजा प्रकाशित गर्नुअघि आइतबार पालिकास्तरीय परीक्षा समितिको बैठक बसी नतिजाको विश्लेषण गरिएको जनाएको छ । समितिको बैठकले दुई विषयसम्ममा नन्ग्रेड अङ्क ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धिका लागि मौका परीक्षा गराउने निर्णय भएको छ ।
कुनै पनि कक्षाको परीक्षा उत्तीर्ण नगर्ने अर्थात् न्यूनतम ग्रेड अङ्क नल्याउने विद्यार्थी अर्को कक्षा चढ्न पाउने छैनन् ।