सचिन पोख्रेल

चतरा (सुनसरी), चैत ३० गते । प्राचीन हरिद्वारको रुपमा रहेको चतराधाममा लागेको एकमहिने बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ महोत्सवको आयोजनासँगै यहाँ सर्वसाधारण भक्तजनको चहलपहल बढेको छ । 

नेपाल र भारतबाहेक भुटान, म्यानमार, बेलायत, अमेरिका, क्यानडा, बेल्जियम, अष्ट्रेलियालगायत देशबाट भक्तजनको आउने क्रम जारी छ । महाकुम्भ महोत्सवको अवसरमा चतराधाममा श्रीरामनवमी विशेष अनुष्ठान र श्रीराम कथा वाचन सुरु गरिएपछि भक्तजनको घुइँचो लागेको छ । 

जगदगुरु श्रीरामानन्दचार्य सेवा पीठ चतराधाम तथा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको आयोजनामा नेपाल आमाकी सुपुत्री चन्द्रकला सखीको मुखाराविन्दबाट सुरु गरिएको श्रीराम कथा श्रवणका लागि देश विदेशबाट हजारौं भक्तजनको उपस्थिति रहेको पीठका प्रवक्ता गोविन्दबाबु तिवारीले जानकारी दिनुभयो । 

जगद्गुरु रामानन्दचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाको संकल्पमा सुरु भएको श्रीरामनवमी विशेष अनुष्ठान र श्रीराम कथा श्रवणका लागि भक्तजनको बृहद् सहभागिता रहेको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । 

त्यसैगरी, पीठको आयोजनामा आगामी वैशाख ५ गतेदखि चतराधामस्थित हनुमान मन्दिर क्षेत्रमा सङ्कटमोचन श्रीहनुमद् महायज्ञ तथा श्रीहनुमद् कथा वाचन गरिने भएको छ ।  भारतको प्रसिद्ध बागेश्वर धाम सरकार पीठका पीठाधीश धीरेन्द्र शास्त्री बागेश्वर सरकारको विशेष उपस्थितिमा आयोजना गरिने हनुमद् महायज्ञ, श्रीहनुमद् कथा वाचनका साथै करिब दुइ अर्ब रुपियाँको लागतमा निर्माण गरिने श्रीयन्त्र आकारको विशेष श्रीराम मन्दिरको शिलान्यास कार्यक्रममा लाखौं भक्तजनको उपस्थिति रहने आयोजकको भनाइ छ ।  

सङ्कटमोचन श्रीहनुमद् महायज्ञ तथा श्रीहनुमद् कथाश्रवणका लागि दैनिक एक लाखभन्दा बढी भत्तजनको सहभागिता हुने अनुमान गरिएको प्रवक्ता तिवारीको भनाइ छ । महायोगी सिद्धबाबाको सत्सङ्कल्पअनुसार सञ्चालन गरिने सङ्कटमोचन श्रीहनुमद् महायज्ञका लागि हवन मण्डप, हवन कुण्ड, आवास व्यवस्थापन, भोजनालय एवं धीरेन्द्रकृष्ण शास्त्री बागेश्वर धाम सरकारको कथा प्रवचनका लागि चार लाख वर्गफिटको बृहद् पण्डालको व्यवस्थापन, खाना व्यवस्थापन, स्नानघर तथा शौचालय व्यवस्थापन लगायतको तयारी अन्तिम चरणमा पुगेको छ । 

धर्तीकै पहिलो तीर्थ वराहक्षेत्रको काख चतराधाममा कुम्भमेलाको अवसरमा दैनिक धार्मिक सत्सङ्ग हुँदैआएको छ । धार्मिक विद्वानबाट दैनिक पाठपारायण र कथा प्रवचन भइरहेको छ । दैनिक धार्मिक सत्सङ्गमा रमाउन र धार्मिक लाभ लिन धार्मिक पर्यटकहरु आउनेगरेका छन् । सप्तकोशी–कौशिकी तट किनारमा साँझमा महाआरती  हुँदैआएको छ । 

काठमाडौंबाट आउनुभएका भक्तजन राजु भण्डारीले नेपालको इतिहासमै पहिलो पटक श्रीहनुमानजीको अनुष्ठानात्मक दुर्लभ महायज्ञबाट लाखौं भक्तजनले लाभ लिनसक्ने बताउनुभयो । सङ्कटमोचन महायज्ञ र कथावाचनको क्रममा दिव्य सन्त दर्शन तथा सम्मेलन महायोग, ध्यान साधना र वराहक्षेत्र धामको ऐतिहासिक विवेचना गरिने कार्यक्रम रहेको र आध्यात्मिक गुरुका रुपमा चर्चित धीरेन्द्र शास्त्री कुम्भमा हनुमद् कथा प्रवचनका लागि आउने भएपछि महाकुम्भ थप भक्तजनका लागि आकर्षणको केन्द्र बन्ने उहाँको विश्वास छ ।