जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १ गते । सनिबार बैशाख १ गते २०८१ सालको पहिलो दिन अर्थात नयाँ वर्षसँगै सुनसरीको विभिन्न गाउँठाउँमा सिरुवा र जुडशीतल पर्व मनाइँदैछ । मधेसी तथा थारु आदिसावीहरुले नयाँ वर्षको पहिलो तीन दिनसम्म सिरुवा पर्व मनाइन्छ । पहिलो दिनलाई थारुहरुले जुडशीतल भन्ने गरेका छन् । खासगरी जिल्लाका मधेसी, थारु आदिवासीहरुमा नयाँ वर्षको अवसरमा सिरुवा पर्व मनाउने प्रचलन छ । थारु समुदायले मनाउने सिरुवा (धाम पावन) पर्व पछिल्लो समय अन्य समुदायले समेत मनाउँदै आएका छन् । तर पर्वको व्यापकता र रौनक बढे पनि सिरुवासँग जोडिएका ग्रामथान र सांस्कृतिक पक्ष भने मासिएर जाने अवस्थामा पुगेका छन् ।
जेष्ठ सदस्यबाट कनिष्ट सदस्यहरुलाई शिरमा पानी छयापेर जुडसितल ः


रसुनसरीको सदरमुकाम इनरुवा सहित ग्रामिण क्षेत्रमा मधेसी समदायमा नयाँ वर्षको एकाविहानै जेष्ठ सदस्यहरुले घरका कनिष्ट सरदस्यहरुलाई टाउकोमा (शिर) मा पानी छयापेर जुडसितल मनाएका छन् ।
घरका जेठा व्यक्तिले आफ्ना गृहदेवता, ग्रामदेवता, सलहेस थान, मन्दिरमा र अन्य देवताहरूमा पवित्र जल चढाई अन्य कुटुम्व तथार आफुभन्दा सानालाई पनि जलले टाउकोमा थप्थपाई आशीर्वाद दिने र सानाले ठूलालाई खुट्टामा जल चढाई ढोग्ने गरेका छन ।रर प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई यहाँ नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनीर मनाउने गरेका छन् । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलतारको अर्थ दिन्छ । देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद रहोस् भन्ने कामना गरिन्छ। सिरुवा प्रकृतिसँग जोडिएको लोकपर्व भएकोले घर वरीपरी रहेका रुखका जराहरुमा पानी हाल्ने, सडक र घर आसपासमा पानी छर्कने, कुवा र पोखरीहरु सफा गर्ने लगायतका प्रचलन पनि छन् ।
शिरमा पानी छ्याप्नाले वर्षभरी नै आनन्दन, सितलता र सफलता मिल्ने जनविस्वाशका साथ प्रत्येक घरका जेष्ठ सदस्यहरुले छोरा,छोरी, बुहारी, नातीनातीनी, भाईभतिजो सहितका कनिष्ट सदस्यहरुलाई शिरमा पानी छयापेर जुडसितल पर्व मनाएका छन् । स्थानीय पण्डीत बासुदेव यादवका अनु्सार जेष्ठ सदस्यहरुले कनिष्ट सदस्यहरुलाई शिरमा पानी छयापेर आर्शिवाद दिदै सुस्वास्थ्य, दिर्घायु, आरोग्य र समृद्धिको कामना सहित जुडसितल मनाएका छन् भने कनिष्ट सदस्यहरुले जेष्ठ सदस्यहरुको खुट्टामा ढोग्ने, पानी राख्ने गरेका छन् । यसले सम्बन्धमा समेत प्रगाढ्ता ल्याउने गरेको यादवको भनाई छ । शास्त्री कुञ्जीलाल मेहताले गाउँगाउँमा सिरुवाको अवसरमा जेष्ठहरुले कनिष्ट सदस्यहरुको शिरमा र कनिष्ठ सदस्यहरुले जेष्ठ सदस्यहरुको खुट्टामा पानी छयापेर जुडसितल मनाएको जानकारी दिनुभयो । जेष्ठ सदस्यबाट कनिष्ट सदस्यहरुलाई शिरमा पानी छयापेर जुडसितल भन्दै आफ्नो घरमा बनाएको मिठोमसिनो खानका लागि समेत निम्तो गर्ने र विहान खाना खुवाउने चलन समेत रहेको छ । पच्छिलो समय एका सगोलमा खाना खाने र खुवाउने गरेको भएपनि विगतको जस्तो गाउँभरीका स्थानीयहरुले एकले अर्काको घरमा गएर जेष्ठ सदस्यबाट शिरमा पानी छयापेर जुडसितलको मान राख्न खाने र खुवाउने संस्कार लोपोन्मुख अवस्थामा पुगेको पंडित बलराम यादवले बताउनुभयो ।
सिरुवाको धार्मिक तथा सांस्कृतिक पक्ष लोपोन्मुख अवस्थामा ः
सुनसरीमा सलहेस, डिहबार थान, राजाजी थान सहित थारु समुदायको ग्रामथान, मुसहरहरुको दिनाभद्री थान, खत्वेहरुको सेशराज महराज थान सहितको धार्मिक तथा सांस्कृतिक अतिक्रमणका कारण सिरुवामा रौनक घट्दो क्रममा रहेको छ । जिल्लामा कतिपय सिरुवासँग जोडिएका सांस्कृतिक पक्ष लोप भएर गएका छन् । दिन दिनै बढ्दो मानविय अतिक्रमणले बाँकी रहेका सांस्कृतिक पक्ष पनि लोप भएर जाने अवस्थामा पुगेका वृद्धाहरुले गुनासो गरेका छन् ।
थारुहरूको बसोबास रहेको प्रत्येक गाउँ भन्दा दक्षिण पट्टी ग्रामथान रहेको हुन्छ । प्रकृति पूजक पूर्वका थारुहरू जन्मदेखि मृत्यु सम्मका संस्कारमा ग्रामथानमा पूजा गर्न जान्छन् । जन्म, विवाह, मृत्यु जस्ता कार्यहरूका लागि उनीहरूलाई ग्रामथान आवश्यक पर्छ ।
थारुहरूले कुनै सङ्कट पर्दा पनि ग्रामथानमा गएर पूजा अर्चना गर्ने गर्छन् । विभिन्न पर्व र उत्सवहरूमा पनि ग्रामथानमा गएर पूजा गर्ने चलन रहेको छ । थारुहरूले ग्रामथानलाई देवस्थलको रूपमा मान्ने गरेको थारुहरूको जातीय संस्था थारु कल्याण कारणी सभाका रोहीत चौधरी बताउँनुहुन्छ ।
चौधरीका अनुसार कतिपय स्थानमा ग्रामथानको नाममा धनी पूर्जा नहुँदा थारु समुदायको आस्थाको केन्द्र ग्रामथान भने अहिले सङ्कटमा परेका छन् ।
इटहरीको मुख्य चोक भन्दा ५० मिटर उत्तरमा धरान इटहरी सडक खण्डसँगै टाँसिएको एउटा ग्रामथान छ । तीन कट्ठा भन्दा बढी जग्गा रहेको सो ग्रामथानमा अहिले भने मुस्किलले ५ धुर पनि जग्गा बाँकी छैन । इटहरीमा जग्गाको मूल्य बढेसँगै सँधियारले ग्रामथानको जग्गा मिच्दा सो ग्रामथान सङ्कटमा छ । यस्तै बाटो निर्माण हुँदा समेत सो ग्रामथानको आकार घटेर गएको छ । ग्रामथानको जग्गा हडप्दा अहिले थारु समुदायको सांस्कृतिक कार्यक्रम गर्न समेत समस्या छ ।
ग्रामथान संरक्षण समिति सुनसरीका अनुसार सुनसरीभरी ६ सय भन्दा बढी ग्रामथान रहेका छन् । परापूर्व कालबाट पूजाआजा भएका ग्रामथान मध्ये अहिले आधा भन्दा बढी ग्रामथानको भूमि नै अस्तित्वमा नरहेको संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरी बताउभयो । बाँकी रहेका ग्रामथान मध्ये पनि ८० प्रतिशत ग्रामथान अति सङ्कटमा रहेको चौधरीले बताउनुभयो ।
ग्रामथानसँगै पोखरी र इनार हुने गर्थे । तर अहिले इनार र पोखरी भएका ग्रामथान भने बिरलै मात्रै रहेको चौधरीले बताउनुभयो । सुनसरीमा जग्गा प्लटिङ हुन थालेपछि ग्रामथानमा मुद्दा मामिला समेत पर्ने गरेको छ
संस्कृति जोगाउदै बैशाखभरी सिरुवा मेला ः
चैत्र महिनाको अन्तिम साता बहर जात्रा मनाएपछि थारु समुदाय सिरुवा पर्व मनाउन सुरु गर्छन् । चैत्रको अन्तिम साता उनीहरू ग्रामथान नजिकै रहेको खेतमा विधिपूर्वक विशेष पूजा गरेर बहर जात्रा ( बाहिर) मनाउ छन् । बहर जात्रा मनाएसँगै सिरुवा पावन सुरु हुने थारु संस्कृति संरक्षणमा लागेका अभियन्ता गवनसिंह चौधरीले बताउनुभयो ।
सुनसरीको रामधुनीमा रहेको पाञ्चायन थानमा र कोशी गाउँपालिका २ पश्चिम कुशाहामा सलहेस थाममा बैशाख १ गते मेला लागेसँगै सिरुवा मेला लाग्न सुरु हुन्छ । थारु समुदाय भने सिरुवा पावनका रूपमा यो पर्व मनाउने गर्छन् ।
पाञ्चायन थान नजिकै रहेको सिरा थानमा विधि पूर्वक पूजा गरेपछि सिरुवा पर्व सुरु हुने गर्छ । प्रकृति पूजक थारुहरू शिरा थानमा दही चिउरा चढाउने गर्छन् । दही चिउरा चढाउँदा गाई वस्तु र चौपाया सप्रने उनीहरू विश्वास गर्छन् ।
पाञ्चायन थानमा भने बलि दिने गरिन्छ । नयाँ वर्षको दिन यहाँको मेला भर्न सुनसरी मोरङ सप्तरी उदयपुरबाट समेत मानिसहरू आउने गर्छन् । तर सिरुवा मेलाको जगका रूपमा रहेको पाञ्चायन थानमा भने अहिले शिव मन्दिर बनेको छ । ठूलो शिव मन्दिरका पछाडि पट्टी जब्धी ( पोखरी) को छेउमा रहेको थानमा थारुहरू पूजाआजा गर्ने गर्छन् ।
त्यसैगरी इनरुवा ७ को चान्दबेलामा, बबिया, सतैरझोरा, इटहरी १६ मा जब्दी मेला , इनरुवाको भगवती मन्दिरको सिरुवा मेला सहित बैशाखभरी यहाँ ठुलो सिरुवा मेला लाग्ने गर्छ ।
आदिबासी जनजातीहरुमा नयाँ वर्षको उत्सव ः
उता सुनसरी सहित झापा, मोरङ र उदयपुर लगायतका जिल्लामा बसोबास रहेको राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी लगायतका जातिले सिरुवा पर्व मनाउँमा व्यस्त बनेका छन् । कोशी गाउँपालिका ३ का गुलावी मुखियाका अनुसार बैसाख १ गतेको विधिलाई सतुवाइन भनिन्छ । घरका देवी देवतालाई सातु, सख्खर चढाएर आफू तथा आफना साथीभाइ इष्टमित्रलाई खान दिइन्छ। यसैगरी पानी सिरुवा, काद सिरुवा र रंग सिरुवा गरी विभिन्न विधि पूरा गरी सिरुवा पर्व मनाउने गरिन्छ । जिल्लाको ठाउँठाउँमा पानी सिरुवा मनाइएको छ ।
उता सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला सरु भएको छ । सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकाको सिमानामा सलहेस थानमा रमाईलो सांस्कृतिक कार्यक्रम सहित धुमधामका साथ सिरुवा मेला लागेको स्थानीय जुगेश्वर यादवले जानकारी दिनुभयो ।
१, सुनसरीको इनरुवा नगरपालिका ९ का जेष्ठ सदस्यले आफ्ना नातीलाई टाउकोमा पानी छ्यापेर जुडसितल मनाउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा