जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ३ गते । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अंसारीले सुनसरीको हरिनगर गाउँपालिका १ रामनगरभुटाहामा चैत्र २२ गते हरिनगर वडा नं. ३ निवसी जीवन मेहता माथि भएको आक्रमण र त्यसपछि उत्पन्न भएको समुदायका बीचमा विवादको विषयमा सुरक्षा निकायसंग छलफल गर्नुभएको छ ।
अंसारीले हरिनगरमा उत्पन्न भएको समस्या र त्यसका समाधानका लागि भईरहेको पहल र प्रयासको विषयमा जानकारी लिने उदेश्यले सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहितका सुरक्षा निकायसंग छलफल गर्नुभएको हो ।
छलफलमा प्रजिअ आचार्यले घटनामा संलग्नहरुलाई कार्वाहीको दायरामा ल्यउाने प्रकृयामा रहेको, शान्ती सुरक्षा कायम गर्न प्रयासरत्त रहेको, अन्यायमा परेकाहरुलाई न्यायका लागि पहल जारी रहेको र स्थानीय तहसंगको समन्वयमा घाईतेहरुको उपचार भईहरेको जानकारी गराउनुभएको थियो ।
अध्यक्ष अंसारीले समग्र विषयमा जानकारी लिएपछि अपराधिक घटनालाई सोही अनुसार कानुनी दायरामा ल्याउने र एक समुदायले अर्को समुदायका व्यक्ति माथिको ज्यादती वा आक्रमणलाई कम गर्दै शान्तीसुरक्षालाई मजबुत बनाउन आग्रह गर्नुभयो ।

यसैबीच आयोगाका अध्यक्ष अंसारीले संचारकर्मीसंग कुराकानी गर्नुहुदै घटना स्थलमा समेत सरोकारबादलारुसंग घटनाका बारेमा जानकारी लिएको र कानुनी कार्वाही समयमा नहुदाँ भएको थप घटनाहरुले केही समस्या रहेको भएपनि सबैले समयमित भएर उक्त समस्यालाई समाधान गर्दै आपसी सदभावका लागि प्रयासरत्त रहेको पाइएको बताउनुभयो ।
उहाँले सदियौदेखी कायम रहेको सदभाव, एकता र भातृत्वलाई कोही कसैले धर्म वा जातीको नममा विगार्न नहुने बताउनुभयो । उहाँले सुरुमा कुरान जलाउने विवादि अभिव्यक्ति दिने जीवन मेहतालाई कानुनी कार्वाही भएको भए त्यसपछिको सामुहकि आक्रमण भएको घटनाले दुवै घटनामा कानुनलाई हातमा लिएको देखिएकाले आपारधीक घटनालाई समुदायसंग जोडन नहुने बताउनुभयो ।
अपराधिक मानसिकताको कारण भएको घटनामा धर्म जोडन उपयुक्त नहुने उहाँको तर्क थियो ।
यसअघि हरिनगर गाउँपालिका १ रामनगरभुटाहा बजारमा एकले अर्कालाई सम्मान गर्ने र आपसी सदभावलाई कायम राख्ने विषयमा सरोकारबाला बीचमा छलफल भएको थियो । कोशी प्रदेशका पूर्व प्रदेश मन्त्री जगदीश प्रसाद कुसियत, पूर्व राज्यमन्त्री एवम् प्रदेश सभा सदस्य रामप्रसाद मेहता, इस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी ,नेकपा एस केन्द्रिय नेता महफुज अन्सारी, एमाले जिल्ला नेता लसकरी अन्सारी, हरिनगर वडा नम्बर १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ता, जिल्ला समन्वय समिति सदस्य समिल मन्सुरी लगायतको उपस्थितीमा नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकोले सबैलाई आ आफ्नो धर्म, संस्कृति परमपरा मान्ने अधिकारलाई सुनिश्चित गर्ने र सामाजिक सदभाव कायम गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

१, हरिनगर गाउँपालिका १ रामनगरभुटाहा बजारमा घटनाका विषयमा मसपीलम आयोगका अध्यक्ष समिम अंसारी मियाँ सुरक्षा निकायसंग छलफल गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा