इनरुवा, बैशाख ६ गते । रामनवमीको अवसरमा सुनसरीको इनरुवा र हरिनगरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । स्थानीयहरुले घरघरमा भगवान रामको प्रतिमुर्ती बनाएर पुजापाठ तथा सांस्कृतिक कार्यक्रम गरेर रामनवमी मनाएको हो । इनरुवा ९ बबियाका देवनारायण यादव सहितले घरमा भगवान रामको प्रतिमुर्ती बनाएर पुजापाठ गरिएको छ भने सोही अवसरमा दर्जन बढी स्थानमा २४ घण्टे अष्टयाम कार्यक्रम आयोजना गरिएको छ ।
जिल्लाको रामधुनी मन्दिर, इनरुवाको रामजानकी मन्दिर लगायत विभिन्न मन्दिरहरूमा पूजाअर्चनाका लागि श्रद्धालुभक्तजनको बुधबार दिनभर घुइँचो लागेको थियो भने विहीबार २४ घण्टे अष्टयाम कार्यक्रम आयोजना गरिएको छ । यस अवसरमा राम मन्दिर र रामजानकी मन्दिरलगायत विभिन्न ठाउँमा धार्मिक तथा सांस्कृतिक झाँकी, भजनकीर्तन तथा प्रवचन लगायतका धार्मिक कार्यक्रमको आयोजना गरिएको छ ।
रामजानकीहरुमा चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाइने राम जन्मोत्सव वासन्तिक नवरात्रभित्रमै पर्ने भएकाले भगवान् रामसँगै दुर्गाभवानी समेतको पूजाआजा गरी मनाइएको छ ।
सुशासन, सुव्यवस्था, धर्म, शान्ति, न्याय र सदाचारको पूर्णताको पर्याय मानिने रामराज्यको सम्झनामा रामनवमी मनाउने गरिएको स्थानीय बाबुनन्दन यादवले बताउनुभयो । पितृभक्ति, मातापिताको आज्ञापालन, भ्रातृप्रेम, एकपत्नी व्रत, कृतज्ञता, शरणगतवत्सलता र प्रजाको भावअनुसार राज्यसञ्चालन जस्ता आदर्श गुणको अनुकरण तथा रावणरूपी शत्रुको हृदयबाट बहिष्करण पनि यस धार्मिक पर्वको सन्देश रहेकाले धार्मिक कार्यक्रम गरिएको यादवले बताउनुभयो ।
हरिनगरका गाउँगाउँमा समेत २४ घण्टे अष्टयाम कार्यक्रम आयोजना गरिएको स्थानीय पप्पु यादवले जानकारी दिनुभयो ।


१, रामनवमीको अवसरमा सुनसरीको इनरुवामा आयोजना गरिएको धार्मिक तथा सांस्कृतिक कार्यक्रम ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा