काठमाडौँ महानगर लगायतका देशका ठुला सहरमा पैदल यात्रीका लागि निर्माण गरिएको सडक पेटी आजभोलि मासिँदै गएको छ । सडक पेटीलाई राज्यले व्यवस्थित गर्न नसक्दा पैदलयात्रीहरु जहिल्यै सास्ती खेप्न बाध्य भएका छन् । 

पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडक पेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडक पेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ । पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडक पेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्त्वपूर्ण विशेषता हो । तर नेपालको राजधानी सहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाडौंंका सडक पेटीको अवस्था बेग्लै छ । 

सडक पेटी असाध्य साँघुरा छन् र कतिपय स्थानमा त सडक पेटीको व्यवस्था नै छैन । भएका सडक पेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् त कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदल मार्ग हराइरहेका छन् । राजधानी काठमाडौँमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडक पेटीको राम्रो व्यवस्थापन छैन । 

सडकपेटीहरु निर्माणको परखाईमा छन् । लाग्छ सडक पेटी उद्धारको पर्खाइमा छन् । ससाना व्यापारीहरूले सडक पेटीलाई व्यापार गर्ने थलो बनाउँछन् । एकातिर सडक पेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौँका सडक पेटीको अवस्था त्यसको ठिक विपरीत पाइन्छ ।