देवराज यादव । भाण्टाबारी
इनरुवा, बैशाख २३ गते । भारतको विहार राज्यको सुपौल जिल्ला स्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । नेपाली अधिकारीहरुलाई यसअघि भएको बैठकमा भारतीय पक्षले आग्रहमा नेपाली नाकाहरु बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना जारी गरि आईतबार साँझ ६ बजेदेखी अर्थत वैशाख २३ गते साँझ ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका बन्द गरिएको जनाएको छ ।
सुनसरी जिल्लासँग जोडिएका सीमानाकाहरु कोशी गाउँपालिकाकाको कोशी व्यारेज भण्टाबारी, लाही, कुम्याही, लौकही, श्रीपुर, हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर, भाक्रोहा नरसिंहको उल्टी, नरर्सिह, देवनगञ्ज गाउँपालिकाको कप्तानगङञ्ज, साहेबगञ्ज लगायतका सील गरिएको हो ,। नेपाली सीमानाकाहरुसंग जोडिएको भारतमा बैशाख २५ गते लोकसभा निर्वाचन हुने भएकाले बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध गरिएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले दिनुभएको जानकारी अनुसार आईतबार साँझ ६ बजे बन्द भएका ती नाकाहरु बैशाख २५ गते राति १२ बजेपछि मात्रै खुल्ने भएका छन ।


प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार भारतको सुपौल जिल्ला र सुनसरी जिल्लासँग सीमा जोडिएकाले बन्द अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आवतजावत बन्द गरिएको छ । उहाँले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिनुभयो । खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमा नाका बन्द गर्ने बिगतदेखिकै प्रचलन रहेको छ । नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमा नाका बन्द गर्ने गरेको बताइएको छ । चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएको छ ।