जयकृष्ण यादव । इनरुवा

इनरुवा, बैशाख २५ गते । सुनसरीको इनरुवा नगरपालिकाले दुई वर्षयता सम्पन्न गरेको विकास योजनाहरुको अनुगमन गरेको छ । मंगलबार नगर प्रमुख केदार भण्डारी सहितको टोलीले इनरुवा १० जल्पापुरको सात वटा योजनाहरुको अनुगमन गरेको हो । नगर उपप्रमुख विनिता मेहताका अनुसार विगत दुई वर्षमा सम्पन्न भएको बाटो, स्मसान घाटको बाटो, कबिस्थान, सडकबाटो सहितको विकासका योजनाहरुको निरीक्षण गरिएको छ । अनुगमन टोलीले विकासमा भएको प्रगति सहितको विकासको अनुगमन गर्दैै नयाँ योजनाहरु समेत छनौट गर्ने गरी निरीक्षण गरेको हो ।

इनरुवा नगरको १० वटै वटामा सम्पन्न भएको र चालु विकास योजनाहरुको अनुगमन गर्ने क्रममा पहिलो दिन इनरुवा १० र ९ नम्बर वडामा अनुगमन गरेको भण्डारीले जानकारी दिनुभयो । विकासमा गुणस्तर तथा मुल्याङ्कनका लागि स्थल अनुगमन गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो । उहाँले शुसाशन र पारदर्शिताका लागि नगर तथा वडामा संचालन भएको योजना तथा आयोजनाहरुको अनुगमन गरिएको बताउनुभयो । विकासमा गुणस्तर कायम गर्ने, सुशासन कायम गर्ने र वीधिको शासनको लागि आफूहरुले अनुगमन गरेको प्रमुख भण्डारीले बताउनुभयो ।