जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २५ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको सहकार्य, देवानगञ्ज गाउँपालिकाको सहयोग र मानव अधिकार समूह देवानगञ्ज तथा डी.एन.नेपाल बहुउदेश्य प्रा.लि.को आयोजनामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । मानव अधिकार समूह गाउँपालिकामा रहेर काम गरेको तथा थप काममा प्रोत्साहन गर्न मानव अधिकार समूहको क्षमता विकासको तालिमा गरेको समूहका सचिव विवेक मेहताले बताउनु भयो ।
गाउँमा गठन भएका मानव अधिकार समूहका पदाधिकारीलाई मानव अधिकार, स्थानीय तहसँग कसरी समन्वय गरेर काम गर्न सकिन्छ लगायतको विषयमा जानकारी दिनको लागि तालिमको आयोजना गरेको मेहताले बताउनु भयो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार मेहताले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएकोले यसको पालना गर्न गराउन भूमिका निर्वाह गर्ने बताउनुभयो । मानव अधिकार समूहलाई समन्वय गरेर लैजाने प्रतिवद्धता जनाउनुभयो ।
देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले मानव अधिकार समूहलाई सहयोग गर्दै आएको बताउनुहुदै सबै नागरिको अधिकार संरक्षण गर्दै, विभिन्न संघ सस्थाको सल्लाह र सुझावलाई मनन गरी कार्य गर्दै आएको र थप काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
देवनागञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले मानव अधिकारको लागि आफू न्यायिक समितिको तर्फबाट काम गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेलले मानव अधिकार समूहले नागरिक समाजको भुमिकामा रहेकाले यसलाई थप प्रभावकारी बनाउन तालिम दिएको बताउनुभयो । तालिममा सहजीकरण गर्दै राष्ट्रिय मानव अधिकार आयोग कोशी विराटनगरका प्रमुख पवन कुमार भट्टले मानव अधिकारका सैद्दान्तिक विषयका साथै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा छलफल गर्नुभएको थियो ।
उक्त तालिममा इन्सेक प्रदेश संयोजक सोमराज थापा, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, डी.एन.नेपालका अध्यक्ष दायालाल चौधरी, कार्यक्रमका सहजकर्ता दिपेन्द्र झा, गाउँपालिका स्तरीय मानव अधिकार समुहका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


१, सुनसरीको देबानगञ्जमा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिमका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा