देवानगञ्जमा अनलाइन दर्ताचलानीको सुरुवात

जुगेश दास
इनरुवा, मंसिर ३ गते । सुनसरीको देवानगञ्ज गाउँपालिकाले आफ्नो सेवा जनताले सहज, सरल र विश्वशनीय रुपमा लिन पाओस भनेर अनलाइन दर्ता चलानी प्रणालीको औपचारिक सुरुवात गरेको छ ।,देवानगञ्ज गाउँपालिका वडा नम्बर–६ को वडा कार्यालयले आईतबारबाट अनलाइन दर्ता चलानी प्रणालीको औपचारिक सुरुवात गरेको वडा अध्यक्ष हरिनन्दन मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार आधुनिक प्रविधिको प्रयोग गर्दै नागरिकलाई छिटो, छरितो र सहज सेवा प्रदान गर्ने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको हो । सुरुवातमा पहिलो सेवाग्राहीको रूपमा देवानगञ्ज गाउँपालिका वडा नम्बर–६ का अशोक मेहताले सेवा लिनुभएको छ । अनलाइन प्रणालीमार्फत आफ्ना काम छिटो सम्पन्न गर्न पाउँदा उहाँ अत्यन्त खुशी भएको बताउनुभयो । अनलाइन दर्ता चलानी प्रणालीले सेवाग्राही र कार्यालयबीचको प्रक्रिया सरल बनाउने, समयको बचत गर्ने, र कागजमा आधारित प्रणालीलाई कम गर्ने लक्ष्य राखेको जनाएको छ । यो प्रणालीबाट सेवाग्राहीहरूले अनलाइनमै आफ्ना फाइल र निवेदन दर्ता गर्न सक्नेछन् भने कार्यालयले उनीहरूको मागलाई छिटो छिनोफानो गर्न सक्नेछ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताले यो प्रणालीले समग्र गाउँपालिकाको सेवा प्रभावकारितामा सुधार ल्याउने विश्वास व्यक्त गर्दै स्थानीयवासीलाई डिजिटल प्रविधि अप्नाउन प्रोत्साहित गर्नुभयो ।
यस प्रणालीको सफल कार्यान्वयनका लागि आवश्यक तालिम र जनचेतना कार्यक्रम सञ्चालन गरिने जनाएको छ । मेहताका अनुसार, अनलाइन प्रणालीले प्रशासनिक कामकाजलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन मद्दत गर्नेछ । वडावासीले यस कामलाई प्रशंसा गर्दै समयसापेक्ष प्रविधि प्रयोगमार्फत जनतामुखी सेवा प्रवाहको प्रशंसनीय प्रयास भएको प्रतिकृया दिएका छन् ।
