इनरुवा , चैत १२ गते । सुनसरीको बर्जु गाउँपालिका ५ अमाहिबेलाहा स्थित नेपाल राष्टिय माध्यमिक विद्यलाय एसईई परीक्षा केन्द्रमा विद्यालयकै कार्यालय सहयोगीका छोरालाई चिट चोराउने केन्द्राध्यक्ष हविव मंसुरी सहित पाँच जनालाई निस्कासन गरेको छ । सुनियोजित रुपमा एउटाको नाममा अर्कै परीक्षामा लेख्न लगाएर चिट चोराउने कार्यमा संलग्न भएको आरोपमा केन्द्राध्यक्ष हविव मंसुरी सहित नक्कली परीक्षार्थी पुष्पा पण्डित, , कार्यालय सहयोगी दिवश चौधरी, परीक्षार्थी सन्देश चौधरी, निरीक्षक सहित पाँचलाई निस्कासित गरेको हो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यलायका कार्यालय सहयोगी दिवश चौधरीले आफ्नो छोरा परीक्षार्थी सन्देश चौधरीलाई जनकल्याण माविमा भर्ना देखाई नक्कली परीक्षार्थी राखेर मर्यादा बाहिरको काम गरेकाले केन्द्राध्यक्ष, निरीक्षक सहित पाँचलाई निस्कासित गरेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिनुभयो । सोही केन्द्रका थप चार जना निरीक्षकलाई निगरानीमा राखेको सुवेदीले जानकारी दिनुभयो । नेपाल राष्ट्रिय माध्यमिक विद्यलायको नयाँ केन्द्राध्यक्षको रुपमा कन्चन कुमार मण्डललाई नियुक्ती गरेको र कार्यालय सहयोगी तथा निरीक्षक समेत नयाँ राखिएको उहाँले बताउनुभयो ।
पुरानो समाचार
उता सुनसरीमा एसईई परीक्षा मर्यादा बाहिर गएको पुष्टी भएको छ । जारी रहेको एसईई परीक्षाको प्रश्नपत्र परीक्षा चलिरहँदा बखतमै ह्वाट्स एपको प्रयोग गरी चिट चोराउने गरेको हो । सोही कार्यमा सहयोग गर्ने सुनसरीको इनरुवा ९ बबियाको सरस्वती मावि परीक्षा केन्द्रबाट तीनजनालाई रङ्गेहात पक्राउ गरेको छ । इनरुवा ९ बबियामा रहेको सरस्वती माध्यमिक विधालय परीक्षा केन्द्रबाट ह्वाट्स एपको प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना निरीगकलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नियन्त्रणमा दिएको हो । आईतबार गणित विषयको परीक्षामा केन्द्र अनुगमनमा पुग्नुभएको प्रजिअ मिश्र सहितको टोलीलाई देखेर निरिक्षकले मोबाइल अफ गरेकोमा चेकजाँचको क्रममा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्ने र चोराउने कार्यमा ह्वाट्स एप चाटको प्रयोग भएको भेटाएको जनाएको छ ।
ह्वाट्एप कुराकानीमा विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कूलको नाम सहित विद्यार्थी संख्या के कति भन्ने बारे च्याट गरिएको पाइएको छ । रङ्गेहात पक्राउ परेका शिक्षक श्रवण कुमार चौधरी, विरेन्द्र मेहता र रमानन्द मेहतालाई अनुगमन टोलीले निस्कासन गरेको हो । यसैबिच परीक्षा केन्द्रहरुमा मोबाइलको प्रवेशको विषयलाई लिएर सुनसरी प्रशासनले चेकजाँचमा कडाई गर्न निर्देशन दिएको छ । सुनसरीको दुहवीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट जनही १० हजार रुपियाँ लिएका दुई गार्डलाई निस्कासन गर्नुभएको थियाो । सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले परीक्षालाई मर्यादित र शान्तपूर्ण बनाउँदै चिट चोर्ने र चोराउने प्रवृतिलाई निरुत्साहित गर्ने गरी परीक्षा केन्द्र लक्षित अनुगमन टोली परिचालन गरिएको बताउनुभयो । सरस्वती मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष उमेश प्रसाद यादवले नै चिट चोराउनका लागि विषयगत शिक्षकलाई राखेर पालोपिले मिलाएर चिट चोर्ने कार्यमा सघाएको स्थानीयहरुले बताएका छन् । अवैध रुपमा सञ्चालिन चान्दनी कोचिंगमा पढाउने शिक्षक वीरेन्द्र मेहता सोही विद्यालयमा प्रावी तहको भएपनि माविमा गणित विषय पढाउने भएकोले चिट चोर्नलाई निरीक्षकमा राखेको बुझिएको छ । मेहता सरस्वती माविका प्रधानाध्यापक तेजनारायण यादवको निर्देशनमा राखेको र परीक्षा केन्द्रबाट मोवाईलको प्रयोग गरी प्रश्नपत्र बाहिर गर्ने, आफ्नैले पनि उतर तयार पार्ने गरेको केन्द्र स्रोतले जनाएको छ ।