सुनसरीका मानवअधिकारकर्मीहरुले जिल्ला  प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

बराहक्षेत्रमा भएको किशोरी माथिको करणी उद्योग सम्बन्धी घटना र सो घटनाको जाहेरीप्रति गम्भिर ध्यानाकर्षण गराउदै पत्र बुझाएका हुन ।

महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष सहजादी प्रविण, गैर सरकारी संस्था महासंघ अध्यक्ष महाराज न्यौपाने,महिला पुनर्स्थापना केन्द्र (ओरेक) कि शाेभा बजगाई, अनौपचारिक क्षेत्र सेवा केन्द्र जय कृष्ण यादव,चण्डिका मोहरा, रिता खडका, सरिता कार्की  सहितको टाेलीले किशोरी माथिको करणी उद्योग जाहेरीप्रति गम्भिर ध्यानाकर्षण गराउदै पत्र बुझाएका हुन ।

बरिस्ठ प्रहरी नयव निरीक्षक मुना डागी, प्रहरी निरीक्षक दिनेश अधिकारी सहितको उपस्थितिमा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनालाई ध्यानाकर्षण गराउदै पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “सुनसरी जिल्लाको बराहक्षेत्र नगरपलिका वडा न.२ घर भएकी १२ वर्षकी युवती जो निम्न आर्थिक अवस्थाको कारण सोही नगरपालिका वडा न. ७ सोमवार चौक घर भएका ५२ वर्षका अर्थराज कोइरालाको घरमा विगत ७ महिना देखि बस्दै आएकी छन् । उनका बाबु पनि कामदारको रुपमा दिनभरि सोही घरमा काम गर्ने अनि बेलुका आफ्‌नो घरमा जाने गर्दछन् । भने बालिका (छोरी) चाहीँ पुर्ण समय उक्त आरोपित कै घरमा बस्ने गरेको अवस्था छ। किशोरी माथि भएको घटनाक्रम हेर्दा, ६ महिना अगाडी देखि नै उक्त आरोपितले कहिले आफ्‌नो कोठामा बोलाउने कहिले प्रभावित भए‌को कोठामा जाने र संवेदनशिल अंगहरुमा छुने, ओठमा चुम्बन गर्ने गरेको जाहेरीमा उल्लेख छ। यि घटना क्रमबाट आफू भागी भागी हिडेको र मनोवैज्ञानिक रुपमा कमजोर भएको प्रभावित र उनको परिवारले बताएका छन् । अन्तिम पटकको घटना, मिति २०८१ वैशाख ५ गते आरोपित् कै घरमा घटेको छ। जसमा, प्रभावित निदाएको अवस्थामा उनकै कोठामा गएर एक्कासि ओठमा चुम्बन गरेको, स्तन चलाएको र योनीमा हात लगाएको जस्ता क्रियाकलाब गरेको प्रभावितले बताएकी छन् भने इलाका प्रहरी कार्यलयले दर्ता गरेको जाहेरीमा समेत उल्लेख छ ।”


प्रभावितको बयान, प्रभावितको संवेदनशिल अंगमा लागेका घाउचोट, घटनाको प्रकृति, अभिभावकको भनाई र घटनापछिको प्रभावितको अवस्था विश्लेषण गर्दा यो घटना जवर्जस्ती करणीको प्रयास हो, भन्नेमा दुविधा छैन । हाम्रा न्यायिक संयन्त्रले पनि पिडित/प्रभावितको बयानलाई प्रधानताको साथ प्रमाणको रुपमा ग्रहण गर्दछ। साथै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ (ख) मा दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए चौध वर्षदेखी सोह वर्षसम्म सजाय हुने प्रावधान रहेको छ। यसैगरी सोही ऐनको दफा ३४ ले कसुर गर्ने उद्योग गर्न नहुने, उपदफा (३) मा, कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुनेछ । यसैगरि बालबालिका सम्बन्धी ऐन २०७५ को दफा २५ (ङ) मा स्वच्छ न्याय र (ज) मा बालमैत्री वातावरणमा अनुसन्धान, अभियोजन तथा सुनुवाइ बालमैत्री वातावरणमा हुने व्यवस्था रहेको तसर्थ, जवर्जस्ती करणीको उद्योग जस्तो गम्भिर घटनामा इलाका प्रहरी कार्य बराहक्षेत्रले बाल यौन दुरुपयोगमा जाहेरी दर्खास्त लिएर मुद्दा प्रक्रिया अगाडी बढाएको छ। यसले, कसुरको गाम्भिर्यतालाई कमजोर त बनायो नै, यसको साथै आरोपितलाई हुनसक्ने कानुन बमोजिमको सजायमा समेत प्रत्यक्ष प्रभाव पार्ने आंकलन गर्न सकिन्छ । साथै अनुसन्धान गर्ने निकायमाथि निस्पक्ष न्याय सम्पादनको प्रश्न पनि उब्जाएको छ । यसरी, कानुन कार्यन्वयन गर्ने निकाय बाटै कानुनी व्यवस्थाको अन्देखा गर्नुले मानव अधिकार र सम्मानपुर्वक बाँच्न पाउने हक कुन्ठित गर्दछ । तसर्थ, यस मुद्दामा प्रभावितको अधिकतम न्यायको लागि गर्न सक्ने पहलको साथै आगामी दिनमा यस प्रकारका घटनामा हुने असंवेदनशिलता दोहोरिन नदिनका लागि यहाँहरूको ध्यानाकर्षण गराउन चाहन्छौं ।, भनिएको छ ।