इनरुवा, पुस १३ गते । सुनसरीको ग्रामिण क्षेत्रमा दलित तथा विपन्न बस्तीका बालबालिकाहरु बढेको जाडोले स्कूल जान समस्या भएको छ । सदरमुकाम इनरुवा ३ र ४ को मुसहर तथा बखो बस्तीमा प्रवेश गरेसँगै वन कार्यालय अगाडि र देवकोटा स्कूल नजिकै ४५ घर मुसहर समुदायका छन् । यहाँका १०० बढी बालबालिका गत मङ्सिर महिनाको अन्तिमदेखी नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर समुदाय बस्ने) टोलभन्दा केवल तीन देखी पाँच सय मिटर दूरीमा रहेको भगवती माध्यमिक विद्यालय, ज्ञानोदय आधारभुत विद्यालय, देवकोटा आधारभुत विधालयमा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिनाको जाडेका कारणले आशिंक रुपमा मात्रै विद्यालय आउने गरेका छन् ।
स्थानीय मुसहर अगुवा रविन्द्र सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई हप्तादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुलेखा देवी सदाले बालबालिकाको जिउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जिउ न्यानो बनाउन आगो समेत अभाव भएको बताउनुभयो । जाडो महिना सुरू भएदेखि नै बालबालिकाहरू विद्यालय आशिंक मात्रै गएको बताइएको छ ।
खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहर समुदायलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको स्थानीय ६२ वर्षीया कबिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाउनुभयो ।


ज्ञानोदय आधारभुत विधालय इनरुवा ४ का प्रधानाध्यापक रामनारायण मेहताले आफ्नो विद्यालयमा २२० जना गरिबविपन्न विधार्थीहरु रहेको र धेरैलाई स्विटर नभएकाले आशिंक अनुपस्थित हुने गरेको बताउनुभयो । उहाँले न्यानो कपडाको अभावमा विधार्थीहरु जाडोमा कक्षा आउने संख्या कम भएको बताउनुभयो । जाडोका कारणले विधार्थीहरु अनियमित भएकाले दाताहरुलाई स्विटर वा ज्याकेटका लागि आग्रह गरेको मेहताले बताउनुभयो । देवकोटा आधारभूत विधालय व्यवस्थापन समितिका अध्यक्ष राकेश निरौलाले स्कूलमा मुसहर, विपन्न दलित र मुस्लिम बालबालिकाहरु ४ वर्ष देखि १३ वर्ष उमेर समूहका रहेकोमा केही न्यानो लुगाको अभावमा अनुपस्थित हुने गरेको बताउनुभयो । निरौलाले तत्काल स्विटरको व्यवस्था मिलाईदिन दाताहरुमा अपिल गर्नुभएको छ । ज्ञानोदय र देवकोटा विद्यालयमा मात्रै नभई इनरुवा नगरपालिका ३ र ४ मा रहेको अधिकाशं विद्यालयमा स्विटरको व्यवस्था मिलाईदिन दाताहरुमा अपिल गर्नुभएको छ । उता भोक्राहा नरसिंह गाउँपालिका ३ को जनता मावि र ७ नम्बर वडाको जनता मावि नरंिसहमा पनि ३२० बढी, गरिब, मुसहर, विपन्न, दलित र मुस्लिम बालबालिकाहरु जाडोबाट प्रभावित भएका छन् । उक्त विद्यालयहरुमा ४ वर्ष देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरु प्रभावित भएका छन । धेरै विधार्थीहरु विद्यालयमा नियमित नभएको अवस्था रहेकाले तत्काल स्विटरको व्यवस्था मिलाउन प्रधानाध्यापक जदु साहले अपिल गर्नुभएको छ ।
जनता मावि भोक्राहा नरसिंह ३ सिवगंज र नर्सिङमा दलित आधारभूत विधालय नरसिंह ६ मा ८२ मुसहर दलित र विपन्न बालबालिकालाई स्कूल जान स्विटरको व्यवस्था मिलाउन सरोकारबालाहरुमा आग्रह गरेको शिक्षक श्यामसुन्द यादवले बताउनुभयो ।
भोक्राहाको दशिक्षवर्ती गाउँका बालबालिकाहरुलाई विद्यालय जान समस्या भएको छ भने मुसहर बस्तीमा अहिले बूढापाका ठाउँठाउँमा खर, पराल र पात–पतिङ्गर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ भने महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ ।