जयकृष्ण यादव । इनरुव
इनरुवा, माघ ३ गते । सुनसरीको इटहरीमा “लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता” विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार संगठन (हुरोन)को संयुक्त आयोजना तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सनिबार सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति कार्कीले सबै दलहरु निर्वाचनको तयारीमा रहेको भएपनि देशको अहिलेको अवस्थाले नागरिकहरुमा निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित र धाधलीरहित हुने ,नहुने आशंका रहेकाले सरकारले निर्वाचनको वतावरण निर्माण गर्न जरुरी रहेको बताउनुभयो । सम्पन्न भएको “लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता“ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्कीले जनताको मानवअधिकार मताधिकारको प्रयोग नागरिकहरुले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित रुपमा गर्न पाउछ कि पाउदैन ? भन्ने आशंका रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोग र सरकारले प्रतिनिधि सभा निर्वाचनको वतावरण निर्माण गर्न प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । निर्वाचन आयोगको नेपाली काग्रेंसलाई दिएको महाधिवेशनको निणर्य प्रति टिप्पणी गर्नुहुदै निर्वाचनको कार्यक्रममा असर पार्ने गरी आएको कार्कीले दावी गर्नुभयो । उहाँले आफू एमालेको नेता समेत भएकोले नेकपा एमाले सामानुपातिक तर्फको बन्द सुचि बुझाईसकेको र प्रत्येक्ष तर्फको उम्मेदबार छनौट अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले कोही कसैलाई राजनीतिक बेईमानीको सिकार बनाउन नहुने बताउनुहुदै निर्वाचनमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो । मानवअधिकारमैत्री निर्वाचन गर्न सरकार गम्भिर हुन आवश्यक देखिएको समेत बताउनुभयो ।
उहाँले सरकारले निर्वाचन घोषणा गरेसँगै निर्वाचनका लागि उपयुक्त वातावरण नबनेको पाइएको स्मरण गर्दै काग्रेंसको विवादमा आयोग चुकेको दावी गर्नुभयो ।
कार्कीले फरक प्रसंगमा भुटानी शरनार्थीहरुको आफ्नै देश फर्किन पाउने अधिकार सुश्चितताका लागि आफूले संघीय सरकारलाई लेखी पठाई सहजिकरण गर्ने बताउनुभयो । आवधिक निर्वाचनमा सबै मतदान गर्न योग्य नागरिकहरुले मानवअधिकारमैत्री रुपमा निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित वतावरणमा गर्न सरकारले वतावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
सम्पन्न भएको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयमा अन्तरकृया कार्यक्रममा सरोकारवालाले लोकतान्त्रिक व्यवस्था सुदृढीकरण नै आवधिक निर्वाचन अपरीहार्य रहेकोमा जोड दिएका छन् ।
सहभागी कोशी प्रदेशका डिआईजी विनोद घिमिरेले निर्वाचन सुरक्षाको हिसावले सबै तयारी पुरा भएकोले शान्तिपूर्ण र स्वच्छ निर्वाचनका लागि प्रहरी प्रतिवद्ध रहेको बताउनुभयो । प्रहरी तथा सुरक्षा निकायको तर्फबाट निर्वाचनका लागि सुरक्षा आवश्यक भएको कुरालाई ध्यानमा राखेर त्यसको तयारीमा रहेको घिमिरेले बताउनुभयो ।
विगतको निर्वाचनको अनुभवहरु सुनाउनुहुदै अहिले निर्वाचन सुरक्षा चुनौती एकदमै कम रहेको बताउनुभयो । उहाँले विगतमा कुनै न कुनै दलले निर्वाचन बहिस्कार गर्ने गरेको, केही सशस्त्र द्धन्द सृजना गरेको अवस्थामा प्रहरीले चुनावमा सुरक्षा दिन सफल भएकोमा अहिले सबै दलहरु चुनावमै जाने भनेको र विद्रोही संगठनहरु वा बहिस्कार गर्ने पार्टी नभएकाले अहिले निर्वाचन सुरक्षामा खासै चुनौती नरहेको बताउनुभयो ।
उहाँले प्राकृतिक रुपमा ४७ वटा मतदान केन्द्रमा हिमपातको जोखिम र मतपेटीका हवाईमार्गबाट ढुवानी गर्नुपर्ने बाहेक कुनै ठूलो चुनौती नभएको बताउनुभयो ।
पाँचथर फिदिम नगरपालिका प्रमुख मित्र काफ्लेले लोकतन्त्रका लागि निर्वाचन आवश्यक भएकोले सबै होमिनुको विकल्प नभएको बताउनुभयो । राजनीतिक शास्त्री आनन्द आचार्यले
निर्वाचन स्वच्छ, निष्पक्षता माथि प्रश्न नउठने गरी सरकारले वतावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
इन्सेकका पूर्व अध्यक्ष सुवोदराज प्याकुरेलले निर्वाचन स्वच्छ हुन जरुरी रहेको बताउनुभयो । उहाँले स्वच्छ, निष्पक्ष र धाधलीरहित वतावरणमा निर्वाचन गर्न नै आफूहरुले अभियान चलाएको बताउनुभयो । उहाँले चुनावमा दोधार हुननहुने बताउनुभयो । उहाँले मानवअधिकारका लागि लोकतन्त्र वा लोकतन्त्रका लागि मानवअधिकार भन्ने सवालमा आफूलाई मानवअधिकारका लागि लोकतन्त्र जरुरी रहेको बताउनुभयो । मानवअधिकार घोषणा पत्रको ३० वटा धाराहरुको चर्चा गर्नुहुदै बालबालिकाको अधिकारदेखी मताधिकारसम्मको सवाललाई संविधानको प्रस्तावनामा नलेखिएकाले अराजकता बढेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक डा. कृष्ण पोखरेलले देशको निकास र विकासमा नागरिकहरुलाई सन्तुष्ट पार्न नसकेका कारणले भदौ २३ गतेको जेन्जी आन्दोलन भएको बताउनुहुदै सार्वभोमसत्ता नागरिकहरुमा निहित पार्न आवश्यक रहेको बताउनुभयो । विकसित मुलुकहरुमा गृह मन्त्रालयले निर्वाचन चराउदै आएको चर्चा सहित नेपालको निर्वाचन प्रणालि लोकतन्त्रको प्राण भएपनि चुनिएर गएकाहरु अर्थात निर्वाचितहरुले बाचा पुरा गर्न आवश्यक भएको बताउनुभयो । उहाँले लोकतन्त्रको स्थायित्वका लागि दलहरु र निर्वाचित जनप्रतिनिधिहरु इमान्दारिपूर्वक काम गर्नुपर्ने र बाचा गरेका कुराहरु पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले राम्रोसंग विकास नगरेको खण्डमा र घोषणापत्र तथा बाचाहरु पुरा गर्न नसकेको खण्डमा विद्रोहको सम्भावना अझै रहेकाले फागुन २१ गतेको निर्वाचन पछि यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बिचौलियातन्त्र हावि भएकाले समाजवाद, लोकतान्त्रिक विचार छायामा परेको टिप्पणी गर्नुभयो ।
वरिष्ठ पत्रकार यज्ञा शर्माले जेनजी आन्दोलनको जगमा हुन लागेको निर्वाचन सम्पन्न गरेर देशको विकास र लोकतन्त्रको स्थायित्व महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले इन्सेक र हुरोनको देशैभरी सञ्जाल रहेको स्मरण गर्दै निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पछिको समेत पर्यवेक्षण गरी स्वच्छ र भयरहित निर्वाचन भए÷नभएको बारे तटस्थ भूमिका खेल्ने धारणा राख्नुभयो ।
उहाँले इन्सेकले निर्वाचन स्वच्छता, भयरहित वतावरणमा हुन सकोस भनेर पर्यवेक्षण गर्दै आएको बताउनुभयो । उहाँले ग्रामिण र निर्वाचनको जोखिम क्षेत्रमा पनि स्वच्छता, निष्पक्षता र भयरहित वतावरणमा हुन सकोस भनेर निर्वाचन पर्यवेक्षण गर्ने बताउनुभयो ।
उहाँले आवधिक समिक्षाले अन्तराष्टियस्तरमा नेपालको मानवअधिकारको सवाल चित्रण गर्ने बताउनुहुदै, कानुन कार्यान्वयन, सुशासन, परिपुरण, सुरक्षा सहितको चर्चा गर्नुभयो । उहाँले फागुन २१ गतेको प्रतिनिध सभा निर्वाचनको पर्यवेक्षण गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुनसरीका सल्लाहकार गणेश निरौलाले जेनजी आन्दोलनमा भएको क्षतीले स्वच्छ निर्वाचनका लागि वातावरण तयार हुन नसकेको बताउनुभयो । उहाँले निर्वाचनमा पर्यवेक्षण गर्नेहरु समेत इमान्दार हुनुपर्ने सुझाव दिनुभयो ।
नागरिक समाजका अगुवा जगदिश ओलीले मुलुकमा निर्वाचनको वातावरण छ कि छैन भन्ने प्रश्न गर्दै राजनीतिक दलहरु र नागरिकहरुले केही प्रश्न उठाउदै आएको जिज्ञासा राख्नुहुदै विद्यालय शिक्षामा निर्वाचनको तयारी, चरण र वातावरणको विषय बस्तु समावेस गर्नुपर्ने सुझाव दिनुभयो ।
एसओएस बालग्रामका प्रमुख दुलीचन्द चौधरीले निर्वाचनमा बालबालिकाहरुको दुरुयोग रोक्न सुझाव दिनुभयो । मानव अधिकारकर्मी ओम भण्डारीले लोकतन्त्र र मानव अधिकारको सुनिश्चितता भएको खण्डमा मात्र स्वच्छ, निष्पक्ष र भयरित वातावरणमा निर्वाचन हुनुपर्ने उल्लेख गर्दै सरोकारबाला निकायले निर्वाचन पूर्व, निर्वाचनको समयका साथै निर्वाचन पछिको वातावरणको समेत पर्यवेक्षण गर्नुपर्ने बताउनुभयो ।केपी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन इन्सेक कोशी प्रदेश प्रमुख मनोहर पोखरेलले गर्नुभएको थियो ।

१, सुनसरीको इटहरीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार संगठन (हुरोन)को संयुक्त आयोजना तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका अथितिहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा