नेपाल प्रहरी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको फाईनलमा प्रवेश

जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख २८ गते । सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै नेपाल प्रहरी टिम फाईनलमा प्रवेश गरेको छ । प्रतिस्प्रधात्मक सेमिफाईनल खेलमा त्रिभुवन आर्मी क्लवलाई १८—१७ अंकले हराउदै नेपाल प्रहरी टिम फाईनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ दी म्याच नेपाल प्रहरीकी खेलाडी मुस्कान कर्ण हुनुभएको आयोजकले जनाएको छ । नेपाल प्रहरी टिमले फाईनलमा सशस्त्र प्रहरी र कोशी प्रदेश मध्ये विजयी हुने टिमसंग उपाधिका लागि प्रतिस्प्रधा गर्ने आयोजक सुनसरी जिल्ला खेलकुद क्लबका अध्यक्ष तरुण कुमार यादवले जानकारी दिनुभयो ।

खेलको म्यान अफ दी म्याच नेपाल प्रहरीकी खेलाडी मुस्कानलाई सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवेले पुरस्कृत गर्नुभयो । दोस्रो सेमिफाईनल खेल सकिएपछि मंगलबार फाइनल खेल हुने भएको छ । प्रतियोगितामा उपाधी जित्नेलाई प्रथम पुरस्कार नगद एक लाख रुपियाँ र ट्रफी, दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ सहित ट्रफी र तृतिय हुने दुईवटा टिमलाई २५÷२५ हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

१, प्रथम महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा त्रिभुवन आर्मी र नेपाल प्रहरीका खेलाडी प्रतिस्प्रधा गर्दै ।
तस्विर ः अनिल श्रेष्ठ। इनरुवा

