जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ १५ गते । सुनसरीको इनरुवा स्थापना गर्ने परिबार सदस्यहरुलाई इनरुवा नगरपालिकाले १९ औं गणतन्त्र दिवश तथा इनरुवा डे को अवसरमा सम्मान गरेको छ । बि.सं. १९८८ साल जेठ १५ मा झोडा फडानी गरी सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका धनबहादुर श्रेष्ठका नाति तथा होमबहादुर श्रेष्ठका छोरा रमेश श्रेष्ठ र दिलबहादुर श्रेष्ठका छोरा क्याविनेट श्रेष्ठलाई शुक्रबार “इनरुवा डे कार्यक्रम” को अवसरमा इनरुवा नगरपालिकाले सम्मान गरेको हो । इनरुवाको स्थापना, विकास र ऐतिहासिक योगदानको कदर गर्दै नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, उप प्रमुख विनिता कुमारी मेहता तथा प्रमुख अतिथि एवम् कोशी प्रदेशका मुख्यमन्त्री किक्मत कार्कीले उहाँहरूलाई दोसल्ला खादा ओढाएर र तामपत्र सम्मान पत्र सहित सम्मान गर्नुभयो । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा इनरुवा डे कार्यक्रम मार्फत श्रेष्ठ परिवार सहित ३३२ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य लालविक्रम थापाले इनरुवा डे ले सार्थक सन्देश दिएको बताउनुभयो । उहाँले युवालाई माया र जेष्ठ अग्रज नागरिकलाई सम्मान गर्ने उदेश्यले गरिएको इनरुवा डे ले सार्थक सन्देश दिएको बताउनुभयो ।
प्रमुख अथिति मुख्यमन्त्री हिक्मत कार्कीले विकासको लागि सबैको योगदान रहेकोले सम्मान पाउनेहरुलाई बधाई दिनुभयो । उहाँले गाउँनगर र देशका लागि योगदान गर्नेहरुलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
नगरपालिकाले गणतन्त्र दिवशको अवसर पारेर जेठ १५ गते “इनरुवा डे पनि मनाउने क्रममा विभिन्न विधाका ३३२ जनालाई सम्मान गरेको सूचना अधिकारी निरज पोखरेलले जानकारी दिनुभयो । इनरुवाका नगर प्रमुख केदार भण्डारीले इनरुवा डे कार्यक्रममा इनरुवा स्थापनामा महत्वपूर्ण तथा एतिहासिक योगदान गर्ने १ जना, विभिन्न विधाका इनरुवा पहिलो व्यक्तिहरु ६९ जना, विधाबारिधि गर्ने २४ जना, राष्टिय खेलाडी १३ जना, बरिष्ठ अधिवक्ता सात जना, जेष्ठ नागरिक २० जना, सामाजिक सेवा तथा संघसंस्था ३२ वटा, पहिलो एसएलसी र एसईई उत्कृष्ठ ३५ जना र जग्गा दाता १३१ जना गरि ३३२ जनालाई सम्मान गरेको जानकारी दिनुभयो । कार्यक्रममा स्वागत गर्दै प्रमुख भण्डारीले नगर कार्यपालिकाबाट स्वीकृत कार्यक्रम अनुसार इनरुवा स्थापना, विकास तथा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सम्मान गरेको बताउनुभयो ।