अनिल श्रेष्ठ । इनरुवा

इनरुवा, जेठ १६ गते । सुनसरीको इटहरीमा सम्पन्न भएको जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पुरुष कबडडी खेल तर्फ ईनरूवा नगरपालिका प्रथम भएको छ ।


कबडडी खेलतर्फ ईनरूवा नगरपालिका पुरूष प्रथम पदक साथै महिला तर्फ द्धितीय पदक जितेको छ । इनरुवा नगरबाट माधव नेपाल, अमन यादव, आकाश साह, राहुल यादव, मनदिप यादव, श्रवण यादव, क्षितिश पण्डित, शिशिर गजमेरले खेल्नुभएको थियो । महिला तर्फ दिव्यानी राजभर, कुमकुम राजभर, निशमा चौधरी सहितले खेलेर जित हासिल गर्नुभएको टिमकोच खगेन्द्र कुमार गुप्ताले जनाकारी दिनुभयो । इनरुवाबाट टिम कोच जुगनु साह र टिम व्यवस्थापक रोहित यादव रहनुभएको थियो । यसैबीच सुनसरीको इटहरीमा ‘१६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ । सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा इटहरी रङ्गशालामा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा सुनसरी जिल्लाभरिका खेलाडीहरूको सहभागिता रहेको थियो । एथलेटिक्स, भलिबल, कबड्डी, उशु, कराते तथा तेक्वान्दो खेल सम्पन्न गरेको आयोजकले जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगिता सम्म पु¥याउन कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले पहल गर्ने बताइएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गर्नुभएको थियो । कार्यक्रम सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिमल पोख्रेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले प्रतियोगिता केही ढिलो सुरु भए पनि खेल मार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्दै उनीहरूलाई अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले खेलाडीहरूको क्षमता विकास र प्रोत्साहनका लागि समिति निरन्तर लागिपर्ने उल्लेख गर्नुभयो । त्यसैगरी प्रमुख अतिथि मन्त्री महतोले प्रदेश सरकार खेलकुद र खेलाडीको हितका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न योजना अघि बढाइरहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ लगायत खेलकुद क्षेत्रमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।