इनरुवा, जेठ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन कोशी गाउँपालिका–१, लौकही स्थित सिटी हलमा भव्यताका साथ सुरु भएको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता बीच अधिवेशनको पार्टीका प्रमुख सचेतक प्रकाशचन्द्र परियारले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्नुहुदै परियारले पार्टीप्रति नागरिकले देखाएको सदभाव, उत्साह र जनमतलाई कदर गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विधिको शासन, सुशासन र जनताको सेवामा सर्मित भएर लाग्ने बलियो नेतृत्वलाई जिल्लामा चयन गर्नुपर्ने भन्दै अधिवेशन सफलताको शुभकामना दिनुभयो । जिल्लाका १२ वटै स्थानीय तहमा पालिका भेला तथा अधिवेशन सकेर शनिबार प्रथम जिल्ला अधिवेशनको उद्घाटन भएको हो । पार्टीका केन्द्रिय, प्रदेश र जिल्ला नेता सहितको उपस्थितीमा विहान प्रथम जिल्ला अधिवेशनको उद्घाटन भएको रास्वपा सुनसरीका सभापति सागर दाहालले जानकारी दिनुभयो । सभापति दाहालका अनुसार जिल्ला अधिवेशनमा लागि दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ वटा गाउँपालिकाबाट प्रतिनिधिहरुले सहभागीता जनाएका छन् । जिल्ला अधिवेशनमा प्रतिनिधि सभा सदस्य लालविक्रम थापा, सिर्जना श्रेष्ठ, असोक कुमार चौधरी, युवा नेता विरेन्द्र केएम, सरिन तामागं, चन्द्र राई र राजन दाहाल सहितकाले सहभागीता जनाउदै अधिवेशन सफलताको शुभकामना दिनुभयो । अधिवेशनबाट आगामी ५ वर्षका लागि जिल्ला कार्यसमिति निर्वाचित हुनेछ ।


१, सुनसरीको कोशी गाउँपालिका १ लौकही सिटी हलमा रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशन उद्घाटन गर्दै ।