जयकृष्ण यादव । इनरुवा 

इनरुवा , असार १४ गते । 

सुनसरीकाे इनरुवामा कोशी प्रदेश स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताकाे तयारी भएको छ ।शान्तिदीप नेपालले सदरमुकाम इनरुवामा पत्रकार सम्मेलन गरी प्रतियोगिता सम्बन्धी जानकारी दिएको हो । आयोजक सहित आठ टिमको सहभागीतामा असार १८ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको  छ । प्रदेश स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगितामा कोशी प्रदेश भित्रका खेलाडीहरुले खेल्नेछन् । आयोजकका अनुसार सहभागी हरेक टिमले अन्य प्रदेशको वा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलेका बढीमा  तीन जना खेलाडीहरु मात्र खेलाउन पाउनेछ। प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजन र कोशी प्रदेश भलिवल संघको प्राविधिक सहयोगमा शान्तिदीप नेपालको आयोजनामा हुने संयाेजक शुभाष राईले जानकारी दिनुभएको छ । इनरुवा नगरपालिका ६ मधेशाको कवर्ड हलमा प्रतियोगिता हुने आयोजक राईले जानकारी दिनुभयो । सहभागी टिमहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित दुईवटा विभागिय टिम, भोजपुर, सुनसरी, मोरङ, झापा र आयोजकको तर्फबाट सुनसरी भलिवल ट्रेनिङ सेन्टर मधेशा रहेको छ ।