व्यावसायिक तरकारी खेतीमा नै विदेशको भन्दा राम्रो कमाई,वार्षिक १२ लाख आम्दानी
इनरुवा ,असार २९ गते । सुनसरीमा व्यावसायिक तरकारी खेती गर्नेहरुले विदेशको भन्द्रा राम्रो आन्मदानी सफल भएका छन् । तरकारी खेतीबाट जिल्ला सदरमुकाम इनरुवा नगरपालिका–८ डुम्राहाका गणेश अर्चाय वैदेशिक रोजगारीबाट फर्केर आफ्नै गाउँठाउँमा तरकारी खेती गर्दै बार्षिक १२ लाख रुपियाँ आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारमा आठ वर्षसम्म श्रम र पसिना बगाएर स्वदेश फर्किनुभएका आचार्यले १२ कठ्ठा जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताउनुभयो । तरकारी खेतीबाटै उहाँले मासिक एक लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । बैदेशिक रोजगारीको लामो अनुभव लिएर स्वदेश फर्किनु भएका अर्चाय आफ्नो र लिजमा गरेर १२ कठ्ठा जग्गामा ब्यवसायीक तरकारी खेती गर्दै आउनुभएको छ । विगतमा परम्परागत धान खेती गर्दै आउनुभएका अर्चायले १२ कठ्ठा जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा बार्षिक १२ लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउनुभयो । उहाँले मलेसियामा पाँच वर्ष र माल्दिभ्समा तीन वर्ष गरी आठ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएको र अन्तत ः स्वदेशमै केही गर्ने उद्देश्यका साथ बुबाबाजेको कृषि पेशालाई आधुनिक, यान्त्रिकिकरण र व्यावसायिकरण गरेर मात्रै १२ कठ्ठा जग्गामा काँक्रा, बोडी, करेला, खोर्सानी र भण्टा(वैगुन) लगायतका तरकारी उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले सुरुमा तरकारी खेतीबाट वार्षिक पाँच देखी आठ लाख आम्दानी हुने गरेकोमा अहिले एक वर्षयता १० देखि १२ लाख रुपियाँसम्म आम्दनी भएको आचार्यले बताउनुभयो ।
तरकारी खेती गर्दा बिउँ, खाद्यमल, जनमजदुरी गरेर आम्दनीको ५० प्रतिशत उत्पादन खर्च कटाएर बाँकी बचत हुने गरेको उहाँले जानकारी दिनुभयो । व्यावसायिक तरकारी खेतीलाई व्यवस्थित बनाउन कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले प्राविधिक तथा सामग्री सहयोग उपलब्ध गराएको समेत उहाँले बताउनुभयो । ज्ञान केन्द्रबाट भिन्डी र बैगुन खेतीका लागि आवश्यक बिउ, मल, मल्चिङ प्लास्टिक र विषादी छर्कने ट्याङ्की लगायतका सामग्री अनुदानमा प्राप्त भएको उहाँले जानकारी दिनुभयो । युवा जमात अहिले रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला उपयुक्त जमिन र बजार व्यवस्थापन हुनसके कृषि क्षेत्रबाटै परिवारको जीविकोपार्जन सहज रूपमा गर्न सकिने स्थानीय अजित कुमारी झाले बताउनुभयो ।
कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव र बजारमा उचित मूल्य नपाउने जोखिम अझै कायमै रहेको हुँदा सरकारले कृषि यान्त्रिकीकरण र बजार व्यवस्थापनमा थप सहयोग गर्नुपर्ने उहाँको भनाई छ । सुनसरीमा व्यावसायिक र मौसमी रूपमा सात हजार ५०० हेक्टर क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती हुदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । उहाँले कृषिमा राम्रो भविष्य रहेकाले धेरै युवाहरु विदेशबाट फर्किएर स्वदेशमै कृषि कर्ममा लागेको र केहीले व्यवसायिक खेती नै गर्दा थालेको जानकारी दिनुभयो ।
