अजितकुमार झा
सुनसरी, १६ भदौ । नेपाली कांग्रेस सुनसरीको वर्तमान राजनीतिक अवस्थालाई लिएर पार्टी नेतृत्व माथि गम्भीर प्रश्न उठ्न थालेको छ। पार्टीलाई जिल्लामा अहिलेसम्मकै कमजोर स्थितिमा पुर्‍याएको भन्दै नेतृत्वको कार्यशैली र संगठन सञ्चालन प्रति पार्टी भित्रै असन्तुष्टि बढेको नेताहरूले बताएका छन्।
पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले संगठनलाई चलायमान बनाउन नसकेको, कार्यकर्ताबीच समन्वय कायम गर्न नसकेको तथा बदलिँदो राजनीतिक परिस्थिति अनुसार पार्टीको रणनीति प्रभावकारी बनाउन नसकेको नेतृत्व माथि आरोप लगाएका छन्।
उनीहरूले जिल्लामा पार्टीको जनाधार र संगठनात्मक प्रभाव कमजोर हुँदै गएको अवस्थामा नेतृत्वले त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु, जिम्मेवारी बाँडफाँटमा पारदर्शिता नदेखिनु तथा कार्यकर्ताको भावनालाई नेतृत्वले पर्याप्त सम्बोधन गर्न नसक्नुले समस्या थपिएको उनीहरूको भनाइ छ।
कांग्रेसका एक स्थानीय नेताले नेतृत्वको कमजोरीका कारण पार्टीले विगतको राजनीतिक प्रभाव कायम राख्न नसकेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “पार्टीको अवस्था कमजोर हुँदै जाँदा पनि नेतृत्वले त्यसको गम्भीर समीक्षा गरेर सुधारको पहल गर्न सकेको देखिँदैन।”
अर्का एक कार्यकर्ताले संगठन सुदृढीकरण, कार्यकर्ताको परिचालन र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्न नेतृत्वलाई आग्रह गर्नुभयो। उहाँका अनुसार पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन नगरे आगामी दिनमा संगठनात्मक चुनौती थपिन सक्छ।
यता, पार्टी नेतृत्वनिकट नेताहरूले भने जिल्लामा कांग्रेस कमजोर भएको निष्कर्षलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्न नहुने बताएका छन्। उनीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा देखिएका आन्तरिक समस्या संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको बताएका छन्।
पार्टीभित्र नेतृत्वको समीक्षा र संगठन पुनःनिर्माणको विषय उठिरहेका बेला आगामी दिनमा जिल्ला नेतृत्वले असन्तुष्ट पक्षसँग कसरी समन्वय गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।