जयकृष्ण यादव। इनरुवा
इनरुवा , भदौ २० गते । सुनसरी सदरमुकाम इनरुवामा ३० औं रथयात्रा भव्यताका साथ सम्पन्न गरेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा इनरुवामा भव्य रथयात्रा निकालिएको र नगरपरिक्रमा गरेको हो । नेपालको विराटनगर पछि दोस्रो ठूलो रथयात्रा इनरुवामा भव्यताका साथ ऐतिहासिक रुपमा निकालिएको हो । इनरुवा ३ को राधाकृष्ण मन्दिरबाट २०५३ सालदेखी निकाल्दै आएको राधाकृष्ण रथयात्रा यस वर्ष ३० औं रथयात्रा निकालिएको मन्दिर समितिका संयोजक केसरी अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार इनरुवामा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विशेष तिथिमा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने गरेकोले यसवर्षपनि रसुवा बाढी पीडितलाई राहत पुर्र्याउन रथयात्रा निकालिएको हो । इनरुवा र आसपास क्षेत्रका हजारौँ भक्तजनहरूको सहभागितामा रथयात्रा सम्पन्न भएको जानकारी दिनुभयो । रथयात्राका लागि आकर्षक पेगोडा शैलीमा निर्माण गरिएको रथ प्रयोग गरिएको र त्यसको डोरी तानेर नगरपरिक्रमा गरिएको स्थानीय सत्यनारायण यादवले जानकारी दिनुभयो । यादवका अनुसार डोरीको धार्मिक महत्व रहेको छ । रथयात्राको क्रममा तानिने पवित्र डोरीलाई छुने वा तान्ने गरेमा पाप नाश हुने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । परम्परा अनुसार रथको दायाँतर्फको डोरी पुरुष र बायाँतर्फको डोरी महिलाहरूले तान्ने चलन छ । इनरुवास्थित राधाकृष्ण मन्दिरबाट निकालिएको विशेष उत्सवसहितको रथयात्रा महेन्द्र चौक, सरकारी वकिल कार्यालय, मालपोत , संखुवागाछी, अदालत रोड, शान्ती चौक, गोल चौक, प्रहरी कार्यालय, भगवती मन्दिर, बसचौक हुदै पुनः मन्दिरमा पुगेर समापन भएको छ ।