श्रीकृष्ण जन्माष्टमीका मूर्ति भव्य रूपमा विसर्जन
जयकृष्ण यादव । इनरुवा
इनरुवा , भदौ २१ गते । सुनसरीकाे इनरुवामा श्रद्धालुको बाक्लो उपस्थितिमा श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा बनाएको मूर्ति भव्य रूपमा विसर्जन गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सुनसरीको सदरमुकाम इनरुवाका विभिन्न राधाकृष्ण मन्दिर र घरघरमा तथा पूजा समितिहरूद्वारा स्थापना गरिएका श्रीकृष्णका आकर्षक मूर्तिहरू पुजापाठ सम्पन्न गरि आइतबार पूर्ण विधि-विधानका साथबार सप्तकोसी नदी तथा स्थानीय नहर र तलाउहरूमा विसर्जन गरिएको हो ।
जन्माष्टमीका दिन विधिपूर्वक पूजा-आजा गरी दर्शनका लागि राखिएका मूर्तिहरूलाई भजन-कीर्तन, बाजागाजा र झाँकीसहित इनरुवा सहर परिक्रमा गराउँदै नजिकैकाे सप्तकोसी नदि काेशी कटानमा विसर्जन गरिएको हो।
धार्मिक उत्साह र सांस्कृतिक रौनक
इनरुवाका मुख्य चोक, गल्ली तथा मन्दिर परिसरमा निर्माण गरिएका भव्य पण्डालहरूबाट सुरु भएको विसर्जन शोभायात्रामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो। विशेषगरी महिला, युवा तथा बालबालिकाहरू “जय श्री कृष्णा” र “हात्ती घोडा पालकी, जय कन्हैया लालकी” को नारा लगाउँदै नाचगानमा सहभागी भएकाे स्थानीय गणेश यादवले जानकारी दिनुभयो ।
धार्मिक कार्यक्रम र मुर्ति विसर्जन गर्न सुरक्षा र व्यवस्थापन कडा पारिएको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।
विसर्जन कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन स्थानीय प्रशासन तथा नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको मल्लले बताउनुभयो । सहरका मुख्य सडकहरूमा भीड व्यवस्थापनका लागि ट्राफिक व्यवस्थापन समेत कडा पारिएको थियो। स्थानीय पूजा समितिका प्रतिनिधि कुलदिप यादवका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि इनरुवामा श्रीकृष्ण जन्माष्टमी पर्व अत्यन्तै भव्य, सौहार्दपूर्ण र धार्मिक उत्साहका साथ सम्पन्न भएको छ। मूर्ति विसर्जनसँगै इनरुवामा केही दिनदेखि चलेको जन्माष्टमीको विशेष रौनक पनि समापन भएको छ।
१, इनरुवामा श्रीकृष्ण जन्माष्टमी भव्य, सौहार्दपूर्ण र धार्मिक उत्साहका साथ सम्पन्न भएपछि मुर्ति विसर्जन गर्दै ।
तस्बिर : जयकृष्ण यादव । इनरुवा
