अजितकुमार झा

इनरुवा (सुनसरी), २३ भदौ । ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गर्दै पहिलो पटक नयाँ व्यवस्थान सहित सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा सप्तकोशी न्युरो अस्पताल सञ्चालनमा आएको छ ।

स्थानीय स्तरमा गुणस्तरीय, सुलभ र भरपर्दो विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अस्पतालले आफ्ना सेवाहरू विस्तार गर्दै नियमित सञ्चालनमा ल्याएको सञ्चालक समितिका दुर्गा फुयालले बताउनुभयो ।

अस्पतालमा हाल २४ घण्टे सिटी स्क्यान, आकस्मिक सेवा, सघन उपचार कक्ष, प्रयोगशाला तथा फार्मेसी सेवा उपलब्ध गराईने उहाँले बताउनुभयो ।

त्यसैगरी, दैनिक रूपमा एक्सरे, अल्ट्रासाउन्ड, इको, कलर डपलर, एनामली स्क्यान, स्माल पाट्र्स तथा मस्कुलोस्केलेटल अल्ट्रासाउन्ड लगायतका आधुनिक निदान सेवाहरू समेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले अनुभवी तथा विशेषज्ञ चिकित्सकको टोली मार्फत बिरामीलाई सेवा दिइरहेको अस्पताल सञ्चालक समितिका डाक्टर रोबिन श्रेष्ठले जानकारी दिनुभयो ।

हाल अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. रोबिन श्रेष्ठ, कन्सलटेन्ट फिजिसियन डा. राजु मौर्य, जनरल सर्जन डा. अभिनय विक्रम शाह, रेडियोलोजीष्ट डा. रितुराज सुवेदी, एनस्थेसियोलोजिष्ट डा. उरुषा शाह र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पूजा दास कार्यरत हुनुहुन्छ । साथै, छाला तथा यौनरोग विशेषज्ञ डा. निरज कार्की र साइक्याट्रिष्ट डा. पृथ्वी राई लगायतका चिकित्सकले पनि सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

अस्पतालले आगामी दिनमा सेवालाई थप परिष्कृत गर्दै डायलिसिस सेवा, न्युरो सर्जरी, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा कोष तथा विपन्न सहायता कोष सञ्चालन गर्ने महत्वाकांक्षी योजना अगाडि बढाएको छ ।

विशेषगरी आसपासका क्षेत्रमा डाइभाइसिस र न्युरो सर्जरी सेवाको सहज पहुँच नभएको अवस्थालाई मध्यनजर गर्दै यी सेवालाई उच्च प्राथमिकताका साथ निकट भविष्यमै सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ । स्थानीय स्तरमा सर्वशुलभ रुपमा सेवा सञ्चालन गर्ने लक्ष्य समेत लिएको सञ्चालक समितिले जनाएको छ ।