काँग्रेस १५ औँ महाधिवेशनमा क्षेत्रीय सभापतिका दावेदार: अन्सारी
इनरुवा, २३ भदौ। नेपाली काँग्रेसको आगामी १५ औँ महाधिवेशनको सरगर्मी बढेसँगै सुनसरी क्षेत्र नम्बर ४ मा अधिवेशन हलचल सुरु भएको छ।
यसै क्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका प्रभावशाली नेता गफार अन्सारीले सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने निश्चित भएको हाे।
काँग्रेसको १४ औँ महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएका अन्सारीले सोही महाधिवेशनमा सुनसरी जिल्ला उपसभापति पदमा प्रतिस्पर्धा गर्नुभएको थियो।
तीव्र प्रतिस्पर्धाका बीच मात्र १८ मतको झिनो अन्तरले पराजित हुनुभएका उहाँलाई यस पटक भने क्षेत्रीय सभापतिको प्रमुख र बलियो दावेदारका रूपमा हेरिएको छ।
हरिनगर गाउँपालिकामा लगातार दुई कार्यकाल अध्यक्ष निर्वाचित भएर स्थानीय सरकारको कुशलतापूर्वक नेतृत्व गरिरहनुभएका अन्सारी सुनसरीमा विकासप्रेमी, जनप्रिय र सर्वस्वीकार्य नेताका रूपमा परिचित हुनुहुन्छ।
पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी दोस्रो पटक पनि जनताको अपार विश्वास र मतका साथ विजयी हुनुभएका अन्सारीले क्षेत्र नं. ४ को समग्र सामाजिक, भौतिक र शैक्षिक रूपान्तरणमा अहम् भूमिका खेल्नुभएको छ।
अन्सारीको पहुँच र पकड स्थानीय राजनीतिमा मात्र सीमित छैन। उहाँले जिल्ला तहका आम जनतादेखि नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा समेत आफ्नो बलियो र मजबुत पकड बनाउनुभएको छ।
केन्द्रीय नेतृत्वसँगको निकटता, स्थानीय प्रशासनसँगको सहज समन्वय र सरोकारवाला निकायहरूसँगको मजबुत सम्बन्धकै कारण उहाँले आफ्ना क्षेत्रका योजना र बजेट प्रभावकारी रूपमा भित्र्याउन सफल हुनुभएको छ।
शान्त, शलीन र भद्र व्यवहारका धनी अन्सारी जनताको सुख-दुःखमा २४ सै घण्टा समर्पित हुने नेताका रूपमा चिनिनुहुन्छ। नागरिकका साना-तिना समस्यादेखि विकास निर्माणका ठूला मुद्दाहरूमा रात-दिन नभनी खटिने उहाँको कार्यशैलीका कारण उहाँ आम जनताकाबीच अत्यन्त लोकप्रिय हुनुहुन्छ।
युवा, ज्येष्ठ नागरिक, महिला तथा सर्वसाधारण सबैका भावना र समस्यालाई सहजै बुझ्न सक्ने उहाँको क्षमता नै उहाँको मुख्य राजनीतिक शक्ति बनेको छ।

स्थानीयस्तरमा विकासको स्पष्ट खाका भएका, सबै पक्षलाई मिलाएर लैजान सक्ने र पार्टी सङ्गठनलाई तल्लो तहसम्म सुदृढ बनाउने क्षमता भएकाले १५ औँ महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताहरूले अन्सारीको नेतृत्वलाई उत्साहका साथ हेरिरहेका छन्।
क्षेत्रीय सभापतिमा उहाँको उम्मेदवारीले सुनसरी काँग्रेसमा नयाँ ऊर्जा र उत्साह थपेका छन् ।
