मुस्लिम समाज सुनसरीद्धरा रसुवा बाढीपीडितलाई ६२ लाख ४५ हजार सहयोग
जयकृष्ण यादव । इनरुवा
इनरुवा , भदौ २६ गते । भोटेकोसीमा आएको विनासकारी बाढीका कारणले प्रभावित भएका रसुवा लगायत जिल्लाका बाढी पीडित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाजले ६२ लाख ४५ हजार ४९ रुपियाँ आर्थिक सहयोग हस्तान्त्रण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा मुस्लिम समाज सुनसरीले ६२ लाख ४५ हजार ४९ रुपियाँको चेक हस्तान्त्रण गरेको मुस्लीम समाजका अगुवा हरुन अंसारीले बताउनुभयो । प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत पु¥याउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यवसायिक सङ्घसंस्था तथा व्यक्तिगत तहबाट स्वेच्छिक रूपमा सङ्कलन गरिएको रकम सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालय मार्फत प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा हस्तान्त्रण गरेर भौचर तथा विवरण हस्तान्त्रण गरेको मुस्लिम समाजका अंसारीले बताउनुभयो ।
नेपाली मुस्लिम समाज सुनसरीको प्रतिनिधि मण्डलले सङ्कलित रकमको बैंक भौचर तथा सहयोगदाताको विस्तृत विवरण सहितका कागजात सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्याललाई हस्तान्तरण गरेको सामाजिक अभियन्ता नईम अंसारीले जानकारी दिनुभयो ।


मुस्लिम समाजले सञ्चालन गरेको अभियान र देखाएको ऐक्यबद्धताको प्रशंसा गर्नुहुदै प्राप्त सहयोगले बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनरुत्थानमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । सहयोग रकम हस्तान्त्रण कार्यक्रममा कोसी प्रदेशका सांसद इस्राइल मंसुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, मौलाना हारुन खान, मेहदी हुसेन लगायतका मुस्लिम समुदायका अगुवाहरुको सहभागीता रहेको थियो ।
