हरिनगरमा श्रम संस्कृति पार्टीबाट अध्यक्षमा अमानुल्लाह अन्सारीको चर्चा
सुनसरी — आगामी स्थानीय तहको निर्वाचनका लागि श्रम संस्कृति पार्टी भित्र सुनसरीको हरिनगर गाउँपालिकाको अध्यक्ष पदमा अमानुल्लाह अन्सारीलाई उम्मेदवार बनाउने बारेमा चर्चा सुरु भएको छ।

पार्टीको हालै बसेको विभिन्न बैठक तथा जनभेलामा पनि अन्सारीलाई अध्यक्ष पदको उम्मेदवार चर्चाको बारेमा आवाज उठेको हो। लामो समयदेखि सामाजिक कार्य तथा स्थानीय युवाहरूलाई श्रम र उत्पादनसँग जोड्ने अभियानमा सक्रिय अन्सारीलाई सर्वसम्मत रूपमा गाउँबाट उम्मेदवार सिफारिस हुने देखिन थालेको पार्टीले जनाएको छ।
उम्मेदवारका चर्चामा रहेको अन्सारीले हरिनगर गाउँपालिकालाई आत्मनिर्भर, भ्रष्टाचारमुक्त र श्रम-संस्कृतिमा आधारित नमुना गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हाम्रो मुख्य प्राथमिकता युवाहरूलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नु, कृषिमा आधुनिकीकरण ल्याउनु र पालिकाभित्रका हरेक नागरिकलाई सर्वसुलभ स्वास्थ्य तथा शिक्षाको पहुँच पुर्याउनु हो।”श्रम र उत्पादनलाई मुख्य नारा बनाएर चुनावी मैदानमा उत्रिएको श्रम संस्कृति पार्टीले हरिनगरका अन्य वडा तथा पदाधिकारी पदका उम्मेदवारहरूको नाम पनि चाँडै टुंगो लगाउने जनाएको छ। अन्सारीको उम्मेदवारीकाे चर्चाले हरिनगरमा चुनाव घाेषणा नहुदै चुनावी हलचल बढेको छ।
