सुनसरी जिल्ला स्तरीय मा. वि. तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको नगर स्तरीय छनौट कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको प्रतियोगितामा इष्ट पोइन्ट ई. स्कुल प्रथम भएकाे छ भने सूर्यकिरण एकेडेमी दोस्रो , इनरुवा इ. बो. स्कुल तृतिय र नवयुग एकेडेमी चौथो, स्थान प्राप्त गर्न सफल भएको हो ।
सुनसरी जिल्ला प्याब्सनको आयोजनामा आउँदो असोज ३ गते हुने जिल्ला स्तरीय मा. वि. तह अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताका लागि आज जिल्ला भरिका पालिकहरुमा पालिका स्तरीय छनौट कार्यक्रम अन्तर्गत सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा पनि सो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्याब्सन आवद्ध इनरुवाका १३ वटा मा. वि. विद्यालयहरुका ३९ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । इनरुवा ५ स्थित नवयुग एकेडेमीको सभा हलमा सम्पन्न उक्त प्रतियोगिता कार्यक्रमको अध्यक्षता नगर प्याब्सन इनरुवाका अध्यक्ष रमेश प्रसाद गुरागाईंले गर्नुभएको थियो भने प्रमुख अतिथिमा इनरुवा नगरपालिका ५ नं. वडाका वडाध्यक्ष अनिल कुमार पोखरेल, विशिष्ट अतिथिमा कोशी प्रदेश प्याब्सनका सल्लाहकार विष्णु प्रसाद कोइराला तथा सुनसरी प्याब्सनका सहसचिव एवं इनरुवा प्याब्सनका प्रमुख सल्लाहकार मनोज कुमार यादवको उपस्थिति रहेको थियो ।
आफ्नो मन्तव्य राख्ने क्रममा कार्यक्रमका अध्यक्ष रमेश प्रसाद गुरागाईंले यस प्रकारका प्रतियोगिताहरुले विद्यार्थी भाइ बहनीहरूमा लुकेर रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
सो प्रतियोगितामा क्रमशः नवयुग एकेडेमी चौथो, इनरुवा इ. बो. स्कुल तृतिय, सूर्यकिरण एकेडेमी दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो भने इष्ट पोइन्ट ई. स्कुल प्रथम भएका थिए । आजको प्रतियोगिता निकै शान्त, सभ्य एवं भव्य रुपमा सम्पन्न भएको जानकारी कार्यक्रम सञ्चालक तथा नगर प्याब्सन इनरुवाका सचिव गंगाराम मण्डलले दिनुभयो ।