विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तिब्र बनाएको छ । असोज २,३ र ४ गते संबिधान दिवस भब्यताका साथ मनाइने भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संबिधान दिवस,२०८३ मुल समारोह समिति गठन भइसकेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार १० हजारको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ ।
संबिधान दिवसका दिन असोज ३ गते बिराटनगर स्थित शहीद रंगशालामा मूल समारोह हुने छ । असोज ३ गते बिहान साढे ६ बजे आदर्श माबि बिराटनगर अगाडी भेला भएर बिभिन्न जातजाती, समूदाय तथा भेषभुषाको झाँकीहरु सहित प्रभातफेरी कार्यक्रम गरिने छ । शहीद रंगशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा मुल समारोह हुने छ । मुल समारोहमा खेलकौशल,प्रसिद्ध कलाकारहरुद्वरा राष्ट्रिय गीत प्रस्तुती र पुरस्कार बितरण लगायत कार्यक्रम गरिने छ ।


असोज २ गते खेलकुद बोर्डको आयोजनामा म्याराथुन दौड र ब्याडमिन्टन प्रतियोगिता हुने छ । सामाजिक बिकास मन्त्रालयले जिल्ला बाट छनौट भएर आएका प्रतियोगीहरुको नेपालको संबिधान र संघीयता कार्यावन्यन बिषयमा बक्तृत्वकला प्रतियोगिता गर्ने छ । जलबायु परिवर्तन र बिपद ब्यबस्थापनमा प्रदेश सरकारको भूमिका बिषयमा खुल्ला निबन्ध प्रतियोगिता गरिने छ । संबिधानदिवसका अवसरमा अन्तरसंबाद तथा भिडियो प्रतियोगिता समेत आयोजना हुने कार्यक्रम छ । यस्तै असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाईमा रक्तदान कार्यक्रम तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा बृक्षारोपण कार्यक्रम गरिने भएको छ । कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ ।