गणेश चतुर्थी अर्थात् (चौरचन पर्व) नजिकिएकाले माटोका विभिन्न भाँडाको माग र बिक्री बढेको छ । 

सुनसरीको दुहबी सहित इनरुवा, इटहरी, लौकही, भोक्राहा, नरसिंह, भुटाहा, हरिनगराको मुख्यचोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएको हो ।

तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।

विभिन्न स्थान र सीमावर्ती बजारमा चौरचन पर्व लागि माटोका दियो, चौमुखे दिप, पाला, माटोको ढकना, माटोको छ्याँची लगायतका भाँडाको बिक्री बढेको दुहबी २ का स्थानीय कमल कुम्भकारले बताउनुभयो । 

यहाँका पण्डित कुम्भकार(कुमहार)हरुले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रुपमा समेत लिने गरेका छन् । नेपाली कुम्भकारहरू कम भएको र केहीले पेशा नै छाडेकाले नेपाली बजारमा माटोको भाडा समेत भारतीयसँग भर पर्नुपरेको कुम्भकार समुदाय दुहबी १० सिमारियाका मनोज पण्डितले जानकारी दिनुभयो ।   

पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले सङ्कटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेशा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालहरूले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन् ।

भोलि अर्थात् सोमबार मनाइने चोरचन पर्व पिठोको लेदोले बनाइएको चतुष्कोण वेदीमा दीप प्रज्वलित गर्दै ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ । खासगरी खिर, दाल र चामलको पिठोबाट बनाइने पुरी,दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसम अनुसारका फलफूल चंन्द्रमालाइ देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद ख्वाएपछि चौरचन पर्व सम्पन्न गरिन्छ ।

हिन्दू मैथिली परम्परामा नाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन घरमुली महिलाले दिनभर निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाता बताउँछन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व चन्द्र उदयको गणनाले चौथी पर्ने दिन मनाइने चलन रहेको मैथिली पण्डित राजु झाले बताए । 

भाद्र शुक्ल चौथीमा विधिपूर्वकको चन्द्र दर्शनले झुटो अबगाल कहिल्यै नलाग्ने, मित्रहरू बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शीतलता प्राप्त हुने जनविश्वास रहिआएको छ । द्वापर युगमा सत्राजित परिवारको श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ’बात’ लागेको र श्रीकृष्णले अबगाल मेट्न चन्द्रव्रत गरे लगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ । त्यसै बेलादेखि चोरचन पर्व परम्परा चलेको जन विश्वास गरिन्छ ।