मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एकजनाको मृत्यु
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ र ५ को सीमा क्षेत्रमा मोटरसाइकल र सिटी सफारी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको भोक्राहा जनता चौकमा भएको सवारी दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको स्थानीय पत्रकार तजमुल हुसेनले जानकारी दिनुभयो । प्रदेश १–०२–०६६–प १७६७ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको (अनटेस्ट) सिटी सफारी एक आपसमा जुधिएर भएको दुर्घटनामा मोटरसाईकलमा सवार कोशी गाउँपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय जितेन्द्र रामको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार प्रदीप यादव घाइते हुनुभएको छ । यादवको सप्तकोसी न्युरो अस्पताल उपचार भइरहेको छ । त्यसैगरी सीटी सफारीका चालक भोक्राहा नरसिंह ४ का मुखÞ्तार मन्सुरी सहित यात्रुहरू राजोता खातुन, तफ्रेज मन्सुरी र सम्सा खातुन घाइते भएका छन् ।


दुर्घटनामा घाइते भएका पाँचजनाको स्थानीय सप्तकोसी न्युरो अस्पताल र सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
