जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज ४ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका वडा नम्बर–६ मन्सुरी टोलबाट प्रहरीले ठुलो परिमाणमा भन्सार छली ल्याइएको अवैध कुखुराको मासुका परिकारहरू बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको अन्दाजी १० लाख रुपियाँ बराबरको अवैध सामान बरामद गरेको हो । बरामद गरिएका सामानहरूमा विभिन्न ब्रान्डका प्याक गरिएका मासुका परिकारहरू रहेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले दिनुभएको जानकारी अनुसार चिकेन सिख केबाब लेखिएको ४७१ प्याकेट, चिकेन बरगर पार्टी लेखिएको ४०३ प्याकेट, चिकेन नुगेट्स लेखिएको २०६ प्याकेट, चिकन फिंगर लेखिएको ५५४ प्याकेट र चिकेन मेटबल लेखिएको ५२४ प्याकेट गरि कुल दुई हजार १५८ प्याकेट बरामद गरिएको हो । बरामद गरिएको सम्पूर्ण सामानहरूलाई जिल्ला पशु स्वास्थ्य कार्यालय सुनसरी, इनरुवामा लगेर नष्ट गरिएको छ । उक्त अवैध सामान कसले र कसरी ल्याएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


१, सुनसरीको सीमावर्ती कोशी गाउँपालिका वडा नम्बर–६ मन्सुरी टोलबाट प्रहरीले अवैध कुखुराको मासुका परिकारहरू बरामद गरी नष्ट गर्दै ।
तस्विर ः