२०८३, असोज ४ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज ४ गते जिल्लाका सार्वजनिक विद्यालयका कक्षाकोठा तथा परिसरभित्र राजनीतिक दलका कुनै पनि कार्यक्रम नगर्न र नगराउन निर्देशन जारी गरेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले एक सूचना जारी गर्नुुहुदै जिल्लाभित्रका सार्वजनिक विद्यालय परिसरमा राजनीतिक दलहरूले आफ्ना दलगत गतिविधि गरिरहेको भन्ने व्यापक गुनासो आएपछि प्रशासनले यस्तो कदम चालेको जानकारी दिनुभयो । विशुद्ध शैक्षिक गतिविधि र पठनपाठन हुने थलोमा पार्टीको चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेलाजस्ता आन्तरिक कार्यक्रम सञ्चालन नगर्न जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरूलाई हार्दिक अनुरोध गरिएको छ । यसैगरी, विद्यालय परिसरभित्र त्यस्ता कुनै पनि गैर–शैक्षिक कार्यक्रम हुन नदिन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय तथा समग्र स्थानीय तहलाई समेत कडा सजगता अपनाउन र रोक्न आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले विधालय शान्ती क्षेत्र घोषणा भएको र बालबालिकाहरुको हकहितको पक्षमा राज्य रहेकाले राजनीतिक दलका कुनैपनि कार्यक्रम र गतिविधि विद्यालयमा गर्न नहुने प्रतिकृया दिनुभयो ।


१, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौलाले जारी गर्नुभएको एक सूचना पत्र ।